आज काठमाडौँ सात हजार प्रहरी र ९७८ जना ट्राफिक परिचालित, ड्रोनबाट पनि सुरक्षा निगरानी « Arthapath.com
२१ असार २०८२, शनिबार

आज काठमाडौँ सात हजार प्रहरी र ९७८ जना ट्राफिक परिचालित, ड्रोनबाट पनि सुरक्षा निगरानी



काठमाडौँ । आज बल्खु र तीनकुनेमा हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ । प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब सात हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार भएको हो ।

प्रदर्शन स्थल र जुलुसको बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी, काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गरिएको छ । ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित भएका छन् ।

प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना सङ्कलनका लागि ३५१ जना सुरक्षाकर्मी परिचालन गरेको छ । एकीकृत सुरक्षा योजना अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट २ सय जना सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालित भएका छन्।

प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने छ । तीनकुनेमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएकाले ड्रोन प्रयोग गर्न नमिल्ने भएकोले बल्खुमा भने ड्रोन प्रयोग गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्