लाख बढी डाउनलोड भयो नेपाली सर्ट भिडियो एप ‘रमाइलो’ « Arthapath.com
१५ मंसिर २०८०, शुक्रबार

लाख बढी डाउनलोड भयो नेपाली सर्ट भिडियो एप ‘रमाइलो’



काठमाडौँ । टिकटक बन्द भएपछि नेपालमा सञ्चालनमा आएको छोटा भिडियोहरू शेयर गर्ने प्लेटफर्म रमाइलो मोबाइल एप छोटो समयमै लोकप्रिय बन्दै गएको छ ।

सार्वजनिक भएको करिब एक सातामै यो एप एक लाख भन्दा बढी पटक डाउनलोड भएको रमाइलो एपका सह(संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गृहेन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार हाल यस एपमा ९० हजारभन्दा बढी दैनिक सक्रिय प्रयोगकर्ता रहेका छन् ।

पछिल्ला दिनमा निकै रुचाइएको यस एपमा सुधार भइरहेको कम्पनीले जनाएको छ । एप सञ्चालनमा ल्याइएको केही दिनमा नै प्रयोगकर्ता सोचेभन्दा धेरै भएपछि केही समस्या आएको थियो । तर अहिले एपमा सुधार गरेर थप परिस्कृत गर्दै गएको सीईओ घिमिरेले जानकारी दिए । जसअनुसार अहिले डार्क मोड, शर्ट्स, भेरिफाइड प्रोफाइल लगायत अन्य फिचर थपेको उनको भनाइ छ ।

कम्पनीले प्रयोगकर्ताहरूबाट सुझावहरू संकलन गरिरहेको र सोही अनुसार सुधार गर्दै लगेको जानकारी दिएको छ । ‘हामीले हाम्रा प्रयोगकर्ताहरू लाई माया गरिरहेका छौं । उहाँहरूको क्रियसनलाई हामीले उचित स्थान दिनेछौं’ उनले भनेका छन् ।

‘कम्पनीले एपलाई क्रमशः अपडेट गर्दै गएको छ । प्रयोगकर्ताले पनि यसलाई क्रमशस् अपडेट गर्दै लगेमा नयाँ फिचरहरू छिट्टै प्रयोग गर्न पाउनेछन् । सरकारको नियमनअनुसार नै यस एपलाई प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन्, घिमिरेले भने ।

रमाइलो एपमा सार्वजनिक भएको शर्ट्स तथा भिडियोहरूले सामाजिक सद्भाव खलल पुग्ने किसिमको पाइएमा वा गैरकानूनी तथा हिंसात्मक भएमा कम्पनीले त्यसलाई हटाउने छ । जसका लागि प्रयोगकर्ताले रिपोर्ट गर्न सक्ने सीईओ घिमिरेले जानकारी दिए । कम्पनीले अबको केही दिनमा नै एप्पल स्टोरमा रमाइलो एप राख्ने तयारी गरिरहेको सीईओ घिमिरेले जानकारी दिए । अहिले परीक्षणको काम भइरहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्