म्युचुअल फन्डहरुको लगानी हिस्सा बैंकपछि बीमा कम्पनीहरुको सेयरमा धेरै, कुन क्षेत्रमा कति ? « Arthapath.com
२५ फाल्गुन २०८०, शुक्रबार

म्युचुअल फन्डहरुको लगानी हिस्सा बैंकपछि बीमा कम्पनीहरुको सेयरमा धेरै, कुन क्षेत्रमा कति ?



काठमाडौं । म्युचुअल फन्डहरुले विभिन्न क्षेत्रमा साढे २९ अर्ब लगानी गरेका छन् । फन्डहरुले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा कुल २९ अर्ब ६१ करोड ५७ लाख रुपैयाँ लगानी विभिन्न क्षेत्रमा गरेका हुन् ।

फन्डहरुको सबैभन्दा धेरै लगानी हिस्सा बैंकको सेयरमा छ । फन्डहरुले हाल ६ अर्ब ६८ करोड ७३ लाख ४२ हजार रुपैयाँ वाणिज्य बैंकको सेयरमा लगानी गरेका छन् । यो कुल लगानीको २२.५८ प्रतिशत हो । फन्डहरुले सेयर, बन्ड, बैंकको मुद्दति निक्षेप, बीमा, उत्पादन समूह लगायतका अन्य सेक्टरमा लगानी गरेका हुन्छन् ।

फन्डहरुको लगानी वाणिज्य बैंकपछि निर्जीवन बीमा कम्पनीमा बढी विस्तार गरेको देखिन्छ । समिक्षा अवधिमा कुल लगानीको १४.३ प्रतिशत हिस्सा निर्जीवन बीमा कम्पनीहरुको सेयरमा देखिएको छ । फन्डहरुले यस क्षेत्रमा कुल ४ अर्ब २३ करोड ३७ लाख २९ हजार रुपैयाँ लगानी गरेका हुन् ।

लगानीकै आधारमा तेस्रो सूचीमा भने जीवन बीमा कम्पनीहरु रहेका छन् । फन्डहरुले जीवन बीमा कम्पनीको सेयरमा कुल लगानीको १३.३५ प्रतिशत हिस्सा छ । फन्डहरुले जीवन बीमा कम्पनीहरुको सेयरमा ३ अर्ब ९५ करोड ४२ लाख ७५ हजार रुपैयाँ लगानी गरेका छन् । यस्तै, लघुवित्त वित्तीय संस्थाहरुमा फन्डहरुले कुल लगानीको १२.१८ प्रतिशत अर्थात् ३ अर्ब ६० करोड ७४ लाख १४ हजार रुपैयाँ लगानी गरेका छन् ।

यस्तै, हाइड्रोपावरमा कुल लगानीको ८.३८ प्रतिशत, विकास बैंकमा ८.१२ प्रतिशत र म्युचुअल फन्डमै ६.७९ प्रतिशत हिस्सा छ । फन्डहरुले माघ मसान्तसम्म आइपुग्दा कुल २ अर्ब ४८ करोड ८ लाख ९९ हजार हाइड्रोपावर, २ अर्ब ४० करोड ५८ लाख ४७ हजार विकास बैंक र २ अर्ब १ करोड १४ लाख २७ हजार रुपैयाँ म्युचुअल फन्डमा लगानी गरेका छन् ।

यस्तै, उत्पादन तथा प्रशोधन समूहमा ९८ करोड ९९ लाख ७३ हजार (३.३४ प्रतिशत), लगानी समूहमा ६२ करोड ६५ लाख ४० हजार (२.१२), कर्पोरेट डिबेन्चरमा ३१ करोड ५७ लाख १६ हजार (१.०७ प्रतिशत), होटेल तथा पर्यटन समूहमा २२ करोड ११ लाख १६ हजार (०.७५ प्रतिशत), फाइनान्समा २७करोड ८६ लाख (०.९४ प्रतिशत), व्यापारमा २ करोड ८३ लाख रुपैयाँ लगानी गरेका छन् । यस बाहेकका अन्य समूहममा भने कुल लगानीको ५.९९ प्रतिशत अर्थात् १ अर्ब ७७ करोड ४४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

कुन समूहमो कति लगानी ?


प्रतिक्रिया दिनुहोस्