क्रिप्टो व्यवसायबाट ट्रम्पको अर्बौँको कमाइ, राष्ट्रपति चुनिएपछि यसरी थपियो सम्पत्ति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष आफ्ना पारम्परिक घरजग्गा व्यवसायहरूलाई समेत माथ दिँदै क्रिप्टोकरेन्सी क्षेत्रबाट मात्रै १ अर्ब डलर (करिब १ खर्ब ५१ अर्ब रुपैयाँ) भन्दा बढी आम्दानी गरेका छन्।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीसँग सम्बन्धित व्यवसायहरूबाट मात्रै एक अर्ब डलरभन्दा बढी कमाएका छन्। मङ्गलवार सार्वजनिक गरिएको उनको वित्तीय विवरण अनुसार यसमा उनको ‘मिम क्वाइन’ व्यवसाय र पारिवारिक क्रिप्टोकरेन्सी कम्पनीको कमाइ समावेश छ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालको कार्यभार सम्हाल्नु तीन दिन अघि सार्वजनिक गरेको ‘$TRUMP’ नामक क्रिप्टो टोकन जारी गर्ने कम्पनीबाट मात्रै ६३ करोड ५० लाख डलर (करिब ९५ अर्ब ८८ करोड ५० लाख रुपैयाँ) रोयल्टी पाएको उल्लेख गरे।
यो ‘मिम क्वाइन’ सामान्यतया मुद्राका रूपमा नभई कुनै सम्झना वा मनोरञ्जनका लागि प्रयोग गरिने एक प्रकारको क्रिप्टो सम्पत्ति हो। सार्वजनिक भएको एक दिनभित्रै यसको मूल्य इतिहासकै सबैभन्दा बढी ७४.२४ डलर पुगेको थियो। यद्यपि मङ्गलवार साँझ कोइनबेसका अनुसार यसको मूल्य घटेर १.६७ डलर कायम भएको छ।
राष्ट्रपति ट्रम्पले आफ्नो र परिवारको लगानी रहेको ‘वर्ल्ड लिबर्टी फाइनान्सियल’ नामक क्रिप्टो कम्पनीको टोकन बिक्रीबाट ५० करोड डलर (करिब ७५ अर्ब ५० करोड रुपैयाँ) भन्दा बढी आम्दानी भएको विवरण दिएका छन्।
त्यसैगरी सोही कम्पनीलाई नियन्त्रण गर्ने मूल फर्मको सेयर बिक्रीबाट ६ करोड ५० लाख डलर (करिब ९ अर्ब ८१ करोड ५० लाख रुपैयाँ) र ‘स्टेबलक्वाइन होल्डको एलएलसी’ को सेयर बिक्रीबाट १९ करोड ६० लाख डलर (करिब २९ अर्ब ५९ करोड ६० लाख रुपैयाँ) आम्दानी भएको देखाएका छन्।
सन् २०२४ को राष्ट्रपतीय चुनावका क्रममा सुरु गरिएको वर्ल्ड लिबर्टी फाइनान्सियल क्रिप्टो टोकन जारी गर्ने कम्पनी हो। यसको स्थापना राष्ट्रपति ट्रम्प, उनका छोराहरू एरिक र डोनाल्ड जुनियर तथा अमेरिकी विशेष दूत एवं ट्रम्पका पुराना मित्र स्टिभ विटकफका छोराहरू ज्याक र एलेक्स विटकफले संयुक्त रूपमा गरेका थिए।
वर्ल्ड लिबर्टी फाइनान्सियलका व्यवसायहरूमा ‘USD1’ नामक स्टेबलक्वाइन समावेश छ, जसको मूल्य प्रति क्वाइन १ डलर निर्धारण गरिएको हुन्छ र यसलाई मूल्य सञ्चितिको रूपमा प्रयोग गरिन्छ। कम्पनीले अर्को क्रिप्टो उत्पादन ‘$WLF’ टोकन पनि बिक्री गर्छ र सार्वजनिक प्रतिवेदनहरूका अनुसार टोकन बिक्रीबाट हुने खुद राजस्वको ७५ प्रतिशत हिस्सा यसैले राख्ने गर्छ।
यो कम्पनी गत वर्ष विवादमा पनि तानिएको थियो। अबु धाबी सरकारको स्वामित्वमा रहेको एउटा वेल्थ फन्डले ठूलो क्रिप्टो एक्सचेन्ज ‘बाइनान्स’ मा अर्बौँ डलर लगानी गर्न यही ‘USD1’ स्टेबलक्वाइन प्रयोग गरेको थियो। बाइनान्सका सह-संस्थापक चाङपेङ झाओलाई ट्रम्पले वित्तीय अपराधको मामिलामा आममाफी दिएका थिए।
ट्रम्पले भने उक्त आममाफी र वर्ल्ड लिबर्टी फाइनान्सियलको कारोबारबिच कुनै सम्बन्ध नरहेको दाबी गर्दै आएका छन्। उनले गत वर्ष सीबीएस न्यूजसँग कुरा गर्दै आफूले ती व्यक्ति को हुन् भन्ने समेत थाहा नपाएको बताएका थिए।
यस वित्तीय विवरणबारे सोधिएका प्रश्नहरूको जवाफ दिँदै ह्वाइट हाउसकी प्रवक्ता आना केलीले यसमा कुनै स्वार्थको द्वन्द्व नरहेको बताइन्। उनले डेमोक्र्याटहरूले राष्ट्रपति ट्रम्प, उनको परिवार र प्रशासनविरुद्ध एक दशकदेखि यस्तै पुरानो र भ्रामक भाष्य बनाउन खोजेको आरोप लगाइन्।
ट्रम्पले अमेरिकी जनताको हितमा मात्र काम गर्ने र फेक न्यूज मिडियाले वर्षौँसम्म झुटो आरोप लगाए पनि जनताले उनलाई भारी मतले पुनः निर्वाचित गरेको उनले दाबी गरिन्।
घरजग्गा व्यवसाय ओझेलमा
क्रिप्टोकरेन्सीबाट भएको ट्रम्पको यो आम्दानी उनलाई चर्चित बनाउने रियल स्टेट (घरजग्गा) व्यवसायको तुलनामा निकै धेरै हो। ट्रम्पले आफ्नो मार-ए-लागो क्लबबाट करिब ७ करोड ७० लाख डलर (करिब ११ अर्ब ६२ करोड ७० लाख रुपैयाँ) र फ्लोरिडाको डोरालमा रहेको गल्फ क्लबबाट १२ करोड २१ लाख डलर आम्दानी गरे।
त्यस्तै फ्लोरिडाको जुपिटर, न्यु जर्सीको बेडमिन्स्टर र स्कटल्यान्डको टर्नबेरीमा रहेका गल्फ क्लबहरूबाट जनही ३ करोड डलर (करिब ४ अर्ब ५३ करोड रुपैयाँ) भन्दा बढी कमाएको विवरणमा छ।
यो प्रतिवेदनले राष्ट्रपतिको नाम प्रयोग गरेर कसरी अन्य विभिन्न माध्यमबाट पैसा कमाइन्छ भन्ने विस्तृत विवरण प्रस्तुत गरेको छ। आचारसंहिता सम्बन्धी एक अधिकारीका अनुसार ट्रम्पले यो प्रतिवेदन बुझाउन ४५ दिनको म्याद थप पाएका थिए र पहिले विवरण नखुलाइएका कारोबारहरूका लागि ढिलो शुल्क समेत बुझाएका थिए।
उनले ‘ट्रम्प वाच’ बाट ४७ लाख डलर रोयल्टी पाउनुका साथै ट्रम्प ब्रान्डका जुत्ता, अत्तर र गिटारबाट पनि आम्दानी गरेका छन्। ट्रम्पको होल्डिङ कम्पनीको पूर्ण स्वामित्वमा रहेको न्युयोर्कस्थित ‘ट्रम्प रेष्टुरेन्ट एलएलसी’ ले खानेकुरा र पेय पदार्थ बिक्रीबाट झन्डै २९ लाख डलर (करिब ४३ करोड ७९ लाख रुपैयाँ) आम्दानी गरेको छ।
त्यस्तै उनका पुस्तकहरूको बिक्री अझै जारी छ। उनले ‘सेभ अमेरिका’ पुस्तकबाट करिब १९ लाख डलर (करिब २८ करोड ६९ लाख रुपैयाँ) र ‘द आर्ट अफ द डिल’, ‘लेटर टु ट्रम्प’, ‘अ मागा जर्नी’ तथा गायक ली ग्रीनवुडसँगको सहकार्यमा प्रकाशित बाइबलको संस्करणबाट केही रकम कमाएका छन्।
प्रथम महिला मेलानिया ट्रम्पका व्यवसायहरू पनि विवरणमा समेटिएका छन्। ‘मेलानिया’ चलचित्रसँग सम्बन्धित अनुमति सम्झौताबाट उनले १ करोड ७ लाख डलर (करिब १ अर्ब ६१ करोड ५७ लाख रुपैयाँ) भन्दा बढी खुद आम्दानी गरेकी छन्।
यस्तै एनएफटी र अन्य सङ्ग्रहणीय वस्तुहरूको बिक्रीबाट करिब ६० लाख डलर (करिब ९० करोड ६० लाख रुपैयाँ) र आफ्नो संस्मरण पुस्तकबाट थप रकम कमाएको विवरणमा उल्लेख छ।
कानुनी क्षतिपूर्ति
राष्ट्रपति ट्रम्पले विभिन्न प्रविधि र सञ्चार माध्यमहरूसँग भएका कानुनी सम्झौता र क्षतिपूर्तिको विवरण पनि बुझाएका छन्।
यसमा एबीसी विरुद्धको मुद्दाबाट १ करोड ६० लाख डलर, सीबीएस ब्रोडकास्टिङ र सीबीएस इन्टरएक्टिभबाट १ करोड ६० लाख डलर, मेटाबाट २ करोड ४५ लाख डलर (करिब ३ अर्ब ६९ करोड ९५ लाख रुपैयाँ), युट्युबबाट २ करोड २० लाख डलर र एक्स (ट्विटर) बाट ८० लाख डलर (करिब १ अर्ब २० करोड ८० लाख रुपैयाँ) प्राप्त भएको छ।
यसरी प्राप्त भएको अधिकांश रकम राष्ट्रपतिको व्यक्तिगत खातामा नगई उनको भावी राष्ट्रपतीय पुस्तकालय वा ‘ट्रस्ट फर द नेशनल मल’ मा जम्मा गरिएको थियो। सीबीएस ब्रोडकास्टिङ र सीबीएस इन्टरएक्टिभको स्वामित्व प्यारामाउन्ट स्काईडान्ससँग छ, जुन सीबीएस न्यूजको मातृ कम्पनी हो।
गत वर्षको वित्तीय विवरणमा जस्तै ट्रम्पले अदालतका केही फैसलाहरूलाई आफ्नो दायित्व वा ऋणको रूपमा सूचीबद्ध गरेका छन्।
यसमा न्युयोर्ककी महान्यायाधिवक्ता लेटिटिया जेम्सले दायर गरेको देवानी जालसाजी मुद्दाको जरिवाना र आफूलाई यौन दुर्व्यवहार तथा बेइज्जतीको आरोप लगाउने ई. जीन क्यारोललाई तिर्नुपर्ने करोडौँ डलरका दुईवटा फैसलाहरू सामेल छन्। ट्रम्पले यी आरोपहरू अस्वीकार गर्दै आएका छन्।
देवानी जालसाजीको फैसलालाई गत वर्ष पुनरावेदन अदालतका न्यायाधीशहरूको टोलीले उल्ट्याइदिएको थियो। अदालतले उनलाई ब्याजसहित करिब ५२ करोड ७० लाख डलर (करिब ७९ अर्ब ५७ करोड ७० लाख रुपैयाँ) जरिवाना तिर्न भनिएको आदेश ‘अत्यधिक’ भएको ठहर गरेको थियो, यद्यपि गैर-वित्तीय सजायहरू भने यथावत् राखिएको थियो।
यसै साता अमेरिकी सर्वोच्च अदालतले क्यारोल मामिलामा ट्रम्पको पुनरावेदनमाथि सुनुवाइ गर्न अस्वीकार गरिदिएको छ।













