हिरो मोटोकर्पको नेपालमा उपस्थिति झनै दरिलो: आफ्नै एसेम्बली प्लान्ट उद्घाटन, आक्रामक व्यापार योजना « Arthapath.com
९ बैशाख २०८१, आईतवार

हिरो मोटोकर्पको नेपालमा उपस्थिति झनै दरिलो: आफ्नै एसेम्बली प्लान्ट उद्घाटन, आक्रामक व्यापार योजना



काठमाडौं । विश्वकै सबैभन्दा ठुलो मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने कम्पनी हिरो मोटोकर्पले नेपालमा एसेम्बली प्लान्टको उद्घाटन गरेको छ ।

नेपालप्रतिको आफ्नो प्रतिबद्धता अगाडि बढाउँदै कम्पनीले आधिकारिक वितरक सीजी मोटर्ससँगको सहकार्यमा आफ्नो आक्रामक व्यापार योजना घोषणा गर्नुका साथै एसेम्बली प्लान्टको उद्घाटन गरेको हो ।

हिरो मोटोकर्पले आफ्ना चार विश्वव्यापी लोकप्रिय उत्पादनहरू एक्सप्लस २०० ४भी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकल र Xoom 110 स्कूटर बजारमा ल्याएको छ। अब उक्त चारवटा उत्पादनलाई नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फ्यसिलिटीमा स्थानीय रूपमै एसेम्बल गरिनेछ ।

यस प्लान्टको क्षमता प्रति वर्ष ७५ हजार युनिट हुनेछ । यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्नेछ। सीजी मोटर्सले बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क दुत रूपमा विस्तार गर्दैछ।

नवीनता र प्रविधि आफ्नो मूल मन्त्रका साथ हिरो मोटोकर्प विश्वभरका आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय उत्पादनहरू र अनुभवहरू प्रदान गर्न प्रतिबद्ध रहेको हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ विजनेस अफिसर सञ्जय भानले बताए । उक्त सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण रहेको उनको भनाइ छ। उनले भने,‘अत्याधुनिक एसेम्बली युनिटले हाम्रा विश्वस्तरीय उत्पादनहरू अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने सुनिश्चित गर्नेछ। सेल्स र सर्भिस नेटवर्कको द्रुत विस्तारले हामीलाई हाम्रा विश्व–स्तरीय उत्पादनहरू र सेवाहरूसँग बजार जोड्न सक्षम बनाउँछ।’

सोही अवसरमा देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुने चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए । ‘सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण हो । हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौं।’

हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्व स्तरीय दक्षता सञ्चालन विस्तार गर्न धेरै लाभदायक हुने उनले बताए ।नयाँ एसेम्बली सुविधा नेपालको मध्यभागमा अवस्थित छ, जसले उत्पादनहरू द्रुत रूपमा देशभर उपलब्ध हुने सुनिश्चितता प्रदान गर्नेछ ।

यसका साथै, सेल्स तथा सर्भिस नेटवर्कको द्रुत विस्तारले सबै ग्राहक आवश्यकताहरू निर्बाध रूपमा सम्बोधन गरिनेछ । सीजी मोटर्सले काठमाडौंमा हिरोको प्रमुख तथा फ्ल्यागशिप शोरुम खोलिसकेको छ। साथै, आगामी तीन महिनाभित्र १०० भन्दा बढी सेल्स तथा सर्भिस आउटलेटहरू खोल्नेछ।


प्रतिक्रिया दिनुहोस्