बढ्यो बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानी: एभरेष्ट र सानिमाको कमाई शतप्रतिशत वृद्धि, कसले कति कमाए ? « Arthapath.com
११ बैशाख २०८१, मंगलवार

बढ्यो बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानी: एभरेष्ट र सानिमाको कमाई शतप्रतिशत वृद्धि, कसले कति कमाए ?



काठमाडौं । सेयर कारोबारबाट हुने बैंकहरुको आम्दानी बढेको छ । सेयर बजारमा आएको उत्तार चढावका बाबजुद पनि पनि बैंकहरुको आम्दानी केही बढेको बढेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकहरुले ९ महिनामा ४ अर्ब ४२ करोड २२ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा भने ८.२५ प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्ममा बैंकहरुले ४ अर्ब ८ करोड ५२ लाख ७४ हजार रुपैयाँ सेयर कारोबारबाट आम्दानी गरेका थिए ।

नेपाल राष्ट्र बैंकले बैंकलाई चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सुविधा दिएको छ । सो सुविधामार्फत बैंकहरुले सेयर बजारमा गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्ने प्रावधान छ ।

समिक्षा अवधिमा अधिकांश बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानीमा बढोत्तरी आएको छ । तर, आधा दर्जन बैंकहरुको मात्रै यस्तो आम्दानीमा गिरावट आएको छ । समिक्षा अवधिमा कृषि विकास बैंकको यस्तो आम्दानी भने ३ करोड ८० लाख रुपैयाँ ऋणात्मक छ ।

बैंकहरुको नाफा साढे १३ प्रतिशत गिरावट आएको छ । बढ्दो खराब कर्जाले बैंकहरुका नाफा प्रभावित भएको छ । अन्य आम्दानी पनि प्रभावित नै छन् । तर, बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानी भने बढेको छ ।

समिक्षा अवधिमा एभरेष्ट बैंक र सानिमा बैंकले सेयर कारोबारबाट हुने आम्दानी शतप्रतिशत बढेको छ। समिक्षा अवधिमा एभरेष्ट बैंकको यस्तो आम्दानी ११४.५२ प्रतिशत बढेर २५ करोड ४५ हजार १८ हजार रुपैयाँ पुगेको छ । यता, सानिमा बैंकको सेयर कारोबारबाट हुने आम्दानी पनि १०२.१८ प्रतिशत बढेर ४२ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा सेयर कारोबारबाट सबैभन्दा धेरै आम्दानी स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५० करोड २८ लाख ३६ हजार छ । गत आवको चैत मसान्तसम्ममा पनि बैंकले सेयर कारोबारबाट ४४ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, ग्लोबल आइएमई बैंकले पनि ४४ करोड ७ लाख रुपैयाँ, नबिलले ३९ करोड ४२ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३३ करोड ७१ लाख, हिमालयन बैंकले ३१ करोड २६ लाख रुपैयाँ आम्दानी सेयर कारोबारबाट गरेका छन् ।

९ महिनाको अवधिमा सेयर कारोबारबाट एनएमबि बैंकले २० करोड ६६ लाख, सिद्धार्थ बैंकको १८ करोड ५१ लाख, मामापुच्छ्रेले १७ करोड ८० लाख, लक्ष्मी सनराइजले १७ करोड ५३ हजार, नेपाल एसबिआई ११ करोड १२ लाख र प्राइम कमर्सियल बैंकले १० करोड ९२ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

यता, एनआईसी एशिया बैंकले ८ करेड ५४ लाख, सिटिजन्स बैंकले ७ करोड ५२ लाख, नेपाल बैंकले ६ करोड ९८ लाख र राष्ट्रिय वाणिज्य बैंकले ३ करोड ९७ लाख रुपैयाँ सेयर कारोबारबाट आम्दानी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्