वैशाख २५ मा संसद बैठक बोलाउने सरकारको तयारी, अवरोधलाई निरन्तरता दिने पक्षमा कांग्रेस « Arthapath.com
२० बैशाख २०८१, बिहीबार

वैशाख २५ मा संसद बैठक बोलाउने सरकारको तयारी, अवरोधलाई निरन्तरता दिने पक्षमा कांग्रेस



काठमाडौं । सरकारले यो सालको बजेट अधिवेशन यही वैशाख २५ मा बोलाउने तयारी गरेको छ । यसका लागि आजै (बिहीबार) बस्ने मन्त्री परिषद बैठकले निर्णय गर्ने संभावना रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधि सभा संसदको अधिवेशन आह्वानका लागि मन्त्री परिषदले निर्णय गरेर राष्ट्रपतिलाई सिफारिस गर्नुपर्ने हुन्छ । संसद बैठक बोलाउने अधिकार राष्ट्रपतिमा निहित छ । वैशाख अन्तिम साताका लागि बैठक बोलाउने तयारी भएको प्रधानमन्त्री कार्यालयका अधिकारी बताउँछन् ।

आगामी जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्थाका लागि सरकारले बजेट अधिवेशन बोलाउन लागेको हो । यसअघिको गठबन्धनमा रहँदा सरकारले चाँडै नै नीति तथा कार्यक्र सार्वजनिक गरेर सांसदहरुको रायलाई समेत बजेटमा समावेश गर्ने घोषणा गरेको थियो ।

तर यस पल्ट पनि उक्त घोषणा कार्यान्वयन हुन सहज नहुने देखिएको छ । एकातिर बजेट ल्याउन तीन साताभन्दा कम समय बाँकी हुने अवस्थाले पर्याप्त छलफल गरेर सांसदहरुको चासोलाई बजेटमा समावेश गर्न कठीन पर्ने भएको छ । सँगसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सदन अवरोधलाई निरन्तरता दिने योजना बनाएको छ ।

कांग्रेसले गत फागुन २१ गतेदेखि संसद बैठक अवरोध गर्दै आएको छ । उसले सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग राख्दै सदन अवरोध गरेको हो । लामिछानेमाथि सहकारी हिनामिनाको आरोप लागिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्