स्वास्थ्यकर्मीको भत्ता काटेर वडाध्यक्षले चढे नयाँ मोटरसाइकल

काठमाडौं । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूको लागि छुट्याइएको बजेटले वडाध्यक्षको लागि मोटरसाइकल खरिद गरेको पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखापरिक्षण प्रतिवेदन यस्तो देखाएको हो ।
गाउँपालिकाले स्थानीय तहका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरुमा कार्यरत कर्मचारीहरुको तलव, महंगी भत्ता, स्थानीय भत्ता, पोषाक लगायत प्रशासनिक खर्च काटेर वडाध्यक्षको लागि २ मोटरसाइकल खरिद गरेको पाइएको हो ।
स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूको लागि विनियोजित बजेट शीर्षक नै परिवर्तन गरेर वडाध्यक्षको लागि ५ लाख ६५ हजार रुपैयाँको मोटरसाइकल खरिद गरेको महालेखाको प्रतिवेदनले देखाएको छ । जुन ऐन विपरित हो ।

एकीकृत आर्थिक संकेत तथा वर्गीकरण र व्याख्या २०७४(दोस्रो परिमार्जन) वमोजिम जुन शीर्षकमा बजेट विनियोजन भएको हो सोही शीर्षकमा मात्र खर्च गर्न मिल्ने व्यवस्था रहेको छ ।
तर पालिकाले भने विनियोजित शीर्षकभन्दा फरक शीर्षकमा खर्च गरेर अनियमितता गरेको हो । यी र यस्तै गतिविधिले पछिल्लो समय स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको पुष्टि गरेको छ।