बोर्डले केन्द्रीय पुँजी बजार तथ्यांक बैंक स्थापना सम्बन्धमा अध्ययन गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आफ्नै डाटा सेन्टर स्थापना गर्ने भएको छ । बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो जनाएको हो ।
बजार र धितोपत्र व्यवसायको नियमन तथा सुपरिवेक्षण कार्यलाई विद्युतीय प्रणालीमा आवद्ध गर्दै लैजाने भएको छ । धितोपत्र बजार सूचना प्रविधि निर्देशिका तयार गर्ने समेत बोर्ड जनाएको छ ।
बोर्डले केन्द्रीय पुँजी बजार तथ्यांक बैंक/पोर्टल स्थापनाको सम्बन्धमा पनि अध्ययन गर्ने भएको छ । पुँजी बजारसम्बन्धी तथ्यांकहरुको केन्द्रीय व्यवस्थापन तथा तथ्यांक उपलब्धताको सहज व्यवस्थापन गर्न केन्द्रीय पुँजी बजार तथ्यांक बैंक/पोर्टल (Central Capital Market Data Bank/Portal) स्थापना सम्बन्धमा अध्ययन गर्ने जनाएको हो ।
बोर्डको वेबसाइटलाई परिष्कृत गरी थप सूचनामूलक बनाउने, आईपीओ बाँडफाँट सफ्टवेयरको जोखिम मूल्याङ्कन र प्रवेश परीक्षण (VPAT)तथा अन्य प्राविधिक पक्षहरुका सम्बन्धमा अध्ययन गरी आवश्यक सुधार गर्ने, धितोपत्र बजारमा प्रयोग हुने सूचना प्रविधिका साधन तथा प्रणालीको सम्परिक्षण ढाँचा तयार गर्ने लगायत कार्यक्रम पनि समावेश गरेको छ ।
बोर्डका कार्य संचालनका लागि आवश्यक हुने सफ्टवेयर तथा हार्डवेयर खरिद, विकास तथा प्रयोग गर्ने व्यवस्था मिलाउने बोर्डले जनाएको छ ।
धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिबेक्षण गर्न अन्तर्राष्ट्रिय रुपमा प्रयोग भइरहेका एआई एकीकृत वास्तविक समय सुपरिबेक्षण प्रणाली प्रयोगमा ल्याउन अध्ययन गर्ने भएको छ ।
बोर्डले हकप्रद सेयर र संस्थापक सेयरको लिलाम बिक्रीलाई व्यवस्थित गर्न स्वचालित लिलामी प्रणालीलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिने जनाएको छ ।