यी निफ्रासहित ४ कम्पनीबाट बाहिरिँदै एनआईसी एशिया बैंक
काठमाडौं । एनआईसी एशिया बैंक विभिन्न ४ कम्पनीको सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स, सूर्योदय वोमी लघुवित्त, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, र नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री गरेर बाहिरिन लागेको हो ।
बैंकले निफ्राको ९ लाख ६५ हजार कित्ता, सीआईटीको ५० हजार कित्ता, सूर्यज्योती लाइफको ९२ हजार ३४९ कित्ता र सूर्योदय लघुवित्तको ५१ हजार ८०५ कित्ता सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो ।
जसमा निफ्राको प्रतिकित्ता १०१ रुपैयाँ, नागरिक लगानीको प्रतिकित्ता ८३३ रुपैयाँ, सूर्याेदय वोमीको प्रतिकित्ता ३९९ रुपैयाँ र सूर्यज्योतिको प्रतिकित्ता १८५ रुपैयाँ मूल्य तोकिएको छ ।
उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले उक्त सेयर खरिदका लागि न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि साउन २९ गतेभित्र आवेदन दिन सक्नेछन् ।
यसअघि विद्यमान संस्थापक सेयरधनीलाई बिक्री खुला गरिएकोमा आवेदन नपरेपछि पुनः सर्वसाधारण लगानीकर्तालाई खुला गरिएको हो ।