धितोपत्र बोर्डले छिट्टै नयाँ अध्यक्ष पाउँछ : अर्थमन्त्री पौडेल « Arthapath.com
२२ श्रावण २०८१, मंगलवार

धितोपत्र बोर्डले छिट्टै नयाँ अध्यक्ष पाउँछ : अर्थमन्त्री पौडेल



काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारको परिपक्क विकासका लागि अर्थ मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार महिला आर्थिक पत्रकार संघ (फेजा) सँग सिंहदबरमा भएको भेटका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले पुँजीबजार अर्थतन्त्रको ऐना भएको भन्दै सरकारले पुँजी बजारलाई अनुशासित, मर्यादित, पारदर्शी ढंगले अगाडि बढाउन चाहेको बताए । ‘पुँजीबजारको विकासका सन्दर्भमा हामीले पारदर्शी परिपक्क ढंगले यो बजारको विषयमा ध्यान दिनुपर्छ । कुनैपनि लगानीकर्ताको लगानी नडुबोस् भन्ने कुरामा विशेष होसियार हुनुपर्छ।’ उनले भने, इन्साइडर ट्रेडिङ, कर्नररिङ, मिडिया क्याम्पिन, सोसल मिडिया लगायत कुराले कुनैपनि लगानीकर्ता पिडित नबनुन् भन्ने मेरो मान्यता छ । यसमा होसियार पनि छु ।’

अर्थमन्त्री पौडेलले लामो समयदेखि रोकिएको नेपाल धितोपत्र बोर्ड नियुक्तिको प्रक्रियासमेत छिट्टै अगाडि बढ्ने बताए । उनले बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया कानुनसम्मत र पारदर्शी ढंगले योग्य पात्र हुने छनोट गरिने प्रतिबद्धता समेत व्यक्त गरे । ‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया यति जटिल बन्न हुँदैनथ्यो । सहज ढंगबाट नियुक्ति प्रक्रिया अगाडि बढ्नुपर्थ्यो । म आइपुग्दा यो गन्जागोल अवस्थाबाट गुज्रिएको थियो । अनिर्णयको अवस्थामा रहेको मैले पाएको छु । कानुनसम्मत, पारदर्शी ढंगले योग्य अध्यक्षको छनोट हुनुपर्छ र हुन्छ भन्ने विश्वास म यहाँहरूलाई दिलाउन चाहन्छु’ उनले भने  ।

अब यो गन्जागोलको अवस्था लामो समयसम्म नरहने र छिटोभन्दा छिटो बोर्डले नयाँ अध्यक्ष पाउने उनले बताए  ।


प्रतिक्रिया दिनुहोस्