पश्चिम नेपालमा दशैँ मनाउन घर फर्किनेको घुइँचो, सीमामा भोग्दै छन् सास्ती
काठमाडौँ । दशैँ लागेसँगै भारतका विभिन्न स्थानमा कामका लागि गएका नेपालीहरु स्वदेश फर्किने क्रम बढेको छ । खासगरी पश्चिम नेपालबाट भारतमा कृषि, चौकीदारी, घरेलु कामदार र होटेल तथा रेष्टुरेन्टमा काम गर्न जाने प्रचलन पहिलेदेखि नै छ ।
उनीहरु दशैँको बेला परिवारसँग चार्डपर्व मनाउन स्वदेश फर्किने गर्छन् । कैलालीको तीलनगर गौरीफण्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला नाकाबाट हजारौँको संख्यामा नेपालीहरु स्वदेश फर्किरहेको त्यहाँका सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।
तर यसरी घर फर्किने नेपालीले सधैँ झैँ यस वर्ष पनि सीमा नाकाहरुमा सस्ती व्यहोर्नु परिरहेको यात्रुहरुको गुनासो छ । दुबै देशका सुरक्षाकर्मी र भारतीय भन्सारदेखि गाडीवालाहरुले पनि यस्ता यात्रुलाई दुःख दिइरहेको उनीहरुले बताएका छन् ।
भारतबाट फर्किने अधिकांश नेपालीहरुले आफ्ना परिवारका लागि लुगाफाटोदेखि भाँडाकुँडा र खानेकुरा समेत उतैबाट बोकेर आउने गरेका छन् । नेपालभन्दा भारतीय बजारमा सस्तोमा सामान पाइने भएकाले यसो गर्नु परेको हो ।
ज्यादै न्यून पारीश्रमिकमा भारतका विभिन्न शहरमा पुगेर श्रम गर्ने नेपालीलाई घर फर्किने बेला भन्सारदेखि सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले दुःख दिने गरेको गुनासो उनीहरुले गरेका छन् । सरकारले राजस्व छलिबाट हुने ब्यापारलाई निरुत्साहित गर्न सीमा नाकामा कडाई गर्ने भनेपछि यसरी घर फर्किने नेपालीहरु झनै समस्यामा परेका छन् ।
यसरी भारत र नेपालमा ओहोर–दोहोर गर्ने नेपालीको वास्तविक आँकडा भने दुबै देशका सरकारको कुनै निकायसँग छैन । खुला सीमा भएका कारण पश्चिम नेपालबाट काम गर्नसक्ने उमेरका नागरिकहरु रोजगारीका लागि भारत जाने गरेका छन् ।
त्यहाँ जाने नेपालीहरुको स्वास्थ्य तथा जीवन बीमा लगायत कुनै पनि सामाजिक सुरक्षाको प्रत्याभूति हुन सकेको छैन । नेपालीहरु आफ्नो देशमा खान–लाउन नपुगेका कारण भारतका विभिन्न शहरमा कामको खोजिमा गइरहेका हुन्छ ।
उनीहरुले भारतमा कमाएको पैसाले त्यहीँबाट चार्डपर्व मान्न आवस्यक सामान गरीद गरेर ल्याउने गरेका छन् । तर त्यस्तो सामानलाई देखाएर भन्सारदेखि सुरक्षाकर्मी र गाडीवालाहरुले समेत ठगी गर्ने गरेको आरोप वर्षौँदेखि यात्रुहरुले लगाउँदै आएका छन् ।
दुई देशका अधिकारीहरुबीच हरेक वर्ष हुने सीमा सुरक्षा बैठकहरुमा पनि यी मुद्धाका बारेमा छलफल हुने गरेको छ । तर यो समस्या कहिल्यै नसल्टिएको भन्दै यात्रुहरुले गुनासो गर्ने गरेका छन् ।