सेजन अवार्ड ओझालाई, वर्षकै उत्कृष्ट विधागत आर्थिक पत्रकार को को ?
काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड २०८१ आर्थिक पत्रकार शरद ओझाले प्राप्त गरेका छन् ।
सेजनको २८ औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ओझालाई १ लाख राशीको सो अवार्ड प्रदान गरेका हुन् ।
ओझा क्लिकमाण्डु डटकममा कार्यरत छन् । उनले बजेटमार्फत सरकारले आयकर ऐनको दफा ५७ मा गरेको हेरफेर र त्यसमा रहेको त्रुटीबारे समाचार लेखेका थिए ।
निवर्तमान अर्थमन्त्री वर्षमान पुनले अघि सारेको उक्त नीतिको सम्भावित जोखिमबारे विभिन्न सञ्चार माध्यममा समाचार आउन थालेपछि नेपालको बजेट इतिहासमै पहिलो पल्ट संसदबाटै आर्थिक ऐनको संशोधन प्रस्ताव नै ‘संशोधन’ भएको थियो ।
यस घटनाबाट बजेटको अंगका रुपमा गएका विधेयकहरु समेत संशोधन हुनसक्छन् भन्ने नयाँ र ऐतिहासिक मानक स्थापित भएको थियो । अर्थपथले पनि उक्त विषयलाई बृहत्तर रुपमा उजागर गरी समाचार सामग्रीहरु प्रकाशन गरेको थियो ।
ओझाले आफू पुरस्कृत भइसकेपछि अनुभव साझा गर्दै यस विषयमा आएका समाचारहरुको प्रभाव विस्तार गरी संसदसम्म पुर्याउन र अघिल्लो सरकारको घातक राजस्व नीतिलाई बेलैमा सच्याउ महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतलाई धन्यवाद दिएका थिए ।
साथै शनिबार नै सेजनले विभिन्न अन्य विधामा समेत आर्थिक पत्रकारलाई पुरस्कृत गरेको छ । छापा माध्याम (प्रिन्ट मिडिया) अवार्ड कारोबार दैनिककी कौशिला कुँवरले प्राप्त गरिन् ।
डिजिटल मिटिया अवार्ड कमल धितालले प्राप्त गरे । धितालले १२ खरी डटकममा लेखेको चिनियाँ ठेक्का सम्बन्धि समाचारका लागि उक्त पुरस्कार प्राप्त गरेका हुन् ।
नेपालमा उदारबारका एक हिमायती स्व. भोला चालिसेको नाममा स्थापित डा. भोला चालिसे लिवरल इकोनोमिक जर्नालिज्म अवार्ड सेतोपाटी डटकमका भागवत भट्टराईले प्राप्त गरे । उनी सेजनै निवर्तमान महासचिव पनि हुन् ।
सोही अवसरमा स्व. सागर घिमिरे स्मृति फुटसल प्रतियोगिताका विजेता टोलीहरुलाई समेत ट्रफि, नगद पुरस्कार र प्रमाणपत्रबाट सम्मानित गरिएको थियो ।