नेपालको उर्जा विकासमा ‘इप्पान’को २५ वर्षे आरोह-अवरोह, यसरी मनाउँदैछ रजतजयन्ती
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले रजतजयन्ती भव्य रुपमा मनाउने भएको छ ।
संस्थाले आफ्नो स्थापनाको २५ औँ वार्षिकोत्सव भव्य रूपमा मनाउने तयारी गरेको हो ।
इप्पानमा निजी क्षेत्रका ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरू सदस्य रहेका छन् । यो ऊर्जा उद्यमीहरूको छाता संस्था हो ।
२०५७ साल माघ ४ गते स्थापना भएको इप्पानले विभिन्न आरोह अवरोह पार गर्दै नेपालको ऊर्जा विकासका लागि महत्त्वपूर्ण २५ वर्ष समर्पित गरेको छ ।
देशलाई लोडसेडिङ मुक्त गरी खुद विद्युत् निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्त्वपूर्ण योगदान रहेको छ ।
देशको कुल विद्युत् जडित क्षमता ३२३५ मेगावाट पुग्दा निजी क्षेत्रको सहभागितामा मात्रै २५४८ मेगावाट अर्थात् कुल जडित क्षमताको करिब ८० प्रतिशत विद्युत् उत्पादन हुनुका साथै ३९४७ मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन र ४५४५ मेगावाट क्षमताका आयोजनाहरू विद्युत् खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न गरी वित्तिय व्यवस्थापनको पर्खाइमा रहेका छन् ।
यस्तै, १२ हजार ५०० मेगावाट क्षमताका आयोजनाहरू पीपीएको पर्खाइमा रहेका छन् भने त्यति नै क्षमताका आयोजनाहरू अध्ययनको विभिन्न चरणमा रहेका छन् ।
यी आयोजनाहरूको अध्ययनदेखि निर्माणसम्मका विभिन्न चरणमा निजी क्षेत्रको अगुवाइमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए । सरकारलाई वार्षिक खर्बौँ रुपैयाँ रोयल्टी तिर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पनि पु¥याइरहेको उनको भनाई छ।
गाउँ गाउँमा बाटोघाटो, पुलपुलेसा पु¥याउँदै स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठुलो रकम सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्रले खर्च गरिसकेको छ ।
देशव्यापी रूपमा विद्युत् उत्पादनसँगै विकास निर्माणका कार्यमा महत्त्वपूर्ण योगदान पु¥याएको निजी क्षेत्रको छाता संस्थाको हैसियतमा इप्पानले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा रजत जयन्ती आगामी माघ ४ गते काठमाडौंमा विशेष कार्यक्रमसहित भव्य रूपमा मनाउने निर्णय गरेको हो ।
रजत जयन्तीको अवसर पारेर इप्पानको २५ वर्षको यात्रा समेटिएको ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशन हुने छ । यसका साथै विभिन्न विधामा अवार्डहरू दिने इप्पान कार्यसमितिको १८७ औँ बैठकले औपचारिक निर्णय गर्दै रजत जयन्तीको लागि छुटै लोगो र नारा समेत अनुमोदन गरेको छ । इप्पानको रजत जयन्तीको नारा ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ रहेको छ ।
इप्पानका अनुसार सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितमा विभिन्न विषयमा प्यानल डिस्कसन पनि हुनेछन् । ऊर्जाका स्थानीयदेखि संघीयसम्मका समस्या, चुनौती, अवसर र नीतिहरुवारे मन्थन हुनेछ ।
त्यस्तै रजत जयन्तीको पूर्व सन्ध्यामा विभिन्न खेलकुद कार्यक्रमहरू आयोजना गरिने भएको छ। जसमा फुटसल तथा ब्याडमिन्टन प्रतियोगिता, रक्तदान कार्यक्रम, इभी ¥याली, निबन्ध लेखन प्रतियोगिता, छोटो वृत्तचित्र निर्माण प्रतियोगिता र फोटो प्रतियोगिता आयोजना गरिने जनाएको छ । इप्पान डे को दिन विभिन्न विधामा इप्पान अवार्ड प्रदान गरिने इप्पानले जनाएको छ । २५ बर्षे यात्रामा साथ र सहयोग गर्ने विभिन्न संघसंस्थालाई सम्मान पनि गरिनेछ ।