विजनेस रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’को घोषणा « Arthapath.com
२ श्रावण २०८३, शनिबार

विजनेस रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’को घोषणा



काठमाडौं । विश्व प्रसिद्ध विजनेस रियालिटी शो ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ घोषणा भएको छ । नेपालका लागि उत्पादन तथा प्रसारण सर्वाधिकार प्राप्त गरेको हिमालय टेलिभिजनले आगामी केही महिनाभित्र कार्यक्रम प्रसारण गर्ने जनाएको छ ।

सोमबार काठमाडौंमा आयोजित घोषणा कार्यक्रममा पहिलो सिजनका लागि पाँच जना शार्कहरु सार्वजनिक गरिएको छ, जसले लगानीका लागि प्रस्ताव लिएर आएका स्टार्टअपहरुमा लगानी गरी उनीहरुको व्यवसाय विस्तारमा सहयोग पुर्याउनेछन् ।

पहिलो सिजनका लागि आईएमई ग्रुपका सहसंस्थापक हेमराज ढकाल, अग्नी ग्रुपका संस्थापक क्याविनेट श्रेष्ठ, बैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह बैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया र पद्दम ज्योति ग्रुपका निर्देशक शौरभ ज्योति रहेका शार्कका रुपमा अनुबन्धित भएका छन् । कठिन संर्घषमार्फत् व्यवसायिक जीवनमा सफलता प्राप्त गरेका यी अगुवा व्यवसायीहरुले उत्कृष्ट सोंच र सम्भावना भएका तर लगानी जुटाउन खोजिरहेका ब्यबसायहरुमा लगानीसँगै ब्यबसायीलाई सफलताका लागि मार्गदर्शनसमेत गर्नेछन् ।

यस सिजनका लागि अन्य दुई जना शार्क पछि सार्वजनिक गरिने हिमालय टेलिभिजनले जनाएको छ । सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को रूपमा सुरु भएको यो शो अहिले विश्वकै सबैभन्दा ठूलो व्यवसायिक रियलिटी टिभी शो बन्न पुगेको छ । ५० भन्दा बढी देशमा प्रसारण हुँदै आएको यो शोलाई सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको छ ।
यो कार्यक्रम अमेरिका, मेक्सिको, भारत, बंगलादेश, पाकिस्तान लगायतका देशमा शार्क ट्याङ्कको नामबाट प्रसारण हुँदै आएको छ भने बेलायत, क्यानडा जस्ता मुलुकमा ड्रागन्स डेन नामबाट प्रसारण हुँदै आएको छ ।

हिमालय टेलिभिजन एचडीका कार्यकारी निर्देशक श्याम कडेलले शार्क ट्याङ्क नेपालको पहिलो सिजनको शार्कका रुपमा नेपालका सफल उद्यमी÷ब्यबसायीहरुलाई प्रस्तुत गर्न पाउँदा गर्व लागेको बताए ।

व्यवसायीहरूले आफ्नो व्यवसायसँग सम्बन्धित डाटा प्रस्तुत गर्दै, एक निश्चित प्रतिशत व्यवसायको सेयर वा ऋणको बदलामा लगानी प्राप्त गर्नका लागि आवेदन गर्न सक्नेछन् । ब्यबसाय सञ्चालनमा आएका र विस्तारका लागि लगानी खोजिरहेका नेपाली उद्यमहरुले हिमालय टेलिभिजनको एप र वेबसाइटमा गई आवेदन दिन सक्नेछन् । शार्क ट्याङ नेपालको पहिलो सिजनको आवेदन जनवरी १५ तारिखभित्र दिइसक्नुपर्ने छ ।

हिमालय टेलिभिजनले नेपालमा बिभिन्न अन्तराष्ट्रिय रियालिटी टेलिभिजन शोहरुको उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । द भ्वाइस अफ नेपाल, भ्वाइस किड्स, हिमालय रोडिज, डान्सिङ स्टार लगायतका कार्यक्रम प्रसारण भइरहेका छन् भने यसै बर्ष अर्को अन्तराष्ट्रिय फेसन रियालिटी शो नेपाल्स नेक्स्ट टप मोडल पनि प्रसारण हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्