एक महिनामै झन्डै ३४ हजारले चढे धरहरा, कति उठ्यो राजश्व ? « Arthapath.com
२ श्रावण २०८३, शनिबार

एक महिनामै झन्डै ३४ हजारले चढे धरहरा, कति उठ्यो राजश्व ?



काठमाडौँ । धरहरा व्यवसायिक रूपमा खुला भएसँगै ३३ हजारभन्दा बढीले चढेका छन् । एक महिनामा ३३ हजार ८६१ जनाले धरहरा चढेको परिसर इन्चार्ज महेश राईले बताए ।
उनका अनुसार दैनिक १२ सयभन्दा बढीले धरहरा चढ्ने गरेका छन् ।

एक महिनाको अवधिमा धरहराबाट ६० लाखभन्दा बढी राजश्व उठिसकेको छ । सार्वजनिक विदाको दिन करीब २२ सय जनाले धरहरा चढ्ने गरेको प्रशासनले जनाएको छ । बुधबार र सार्वजनिक बिदा बाहेक अन्य दिन धरहरा सर्वसाधारणको लागि खुल्ने गरेको छ ।

अहिले अनलाइनबाट समेत धरहराको टिकेट लिन सकिन्छ । धरहरा परिसरमै पुगेर टिकट लिनेहरो बढी छन् । धरहरा चढ्न गत मंसिर ९ गतेबाट शुल्क तोकिएको थियो । बिहान १० देखि दिउँसो ४ बजेसम्म मात्र धरहरा चढ्न पाइने छ ।

सरकारले धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ । विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई भने सो रकममा ५० प्रतिशत सहुलियत गरिएको छ । यस्तै, सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ।

तीन तला पार्किङको व्यवस्था गरिए पनि सञ्चालनमा आइनसकेकाले अहिले पार्किङ भने नि:शुल्क छ । धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ ।

१२ वैशाख ०७२ को महाभूकम्पले ढलेको धरहरा सर्वसाधारणका लागि प्रवेश खुला गरिए पनि पूर्ण रूपमा निर्माण सम्पन्न भइसकेको छैन । धरहरा निर्माण भएपनि धरहरा परिसरका संरचना पार्किङ, अर्थक्वीक म्युजियम, वाटर ट्रिटमेन्ट प्लान्ट, लाइट जडानका काम अझै सकिएको छैन ।


प्रतिक्रिया दिनुहोस्