ग्राण्ड भिटारापछि अब फ्रङ्क्समा पनि ‘हाइब्रिड इञ्जिन’, ४० किलोमिटर माइलेज दिने « Arthapath.com
१६ पुष २०८१, मंगलवार

ग्राण्ड भिटारापछि अब फ्रङ्क्समा पनि ‘हाइब्रिड इञ्जिन’, ४० किलोमिटर माइलेज दिने



काठमाडौँ । मारुती सुजुकीले अब फ्रङ्क्स पनि हाइब्रिड इन्जिनको साथ बजारमा ल्याउने भएको छ । उक्त एसयुभीलाई इन्धन किफायती बनाएर बजारमा ल्याउन लागिएको हो ।

सुजुकीको ग्राण्ड भिटारा हाइब्रिड मोडल निकै सफल बनेपछि यसैको उत्प्रेरणा फ्रङ्क्समा पनि कार्यान्वयन गर्न लागिएको हो । उक्त नयाँ मोडलको गाडी सन् २०२५ को अन्तिमसम्ममा बजारमा ल्याउने प्रयास कम्पनीले गरेको छ ।

कम्पनीले ल्याउने नयाँ फ्रङ्क्स हाइब्रिड इन्जिनमा उपलब्ध हुने क्रसओभर मोडल हो । हाइब्रिड मोडलमा प्रतिलिटर पेट्रोलले ३५ देखि ४० किलोमिटर माइलेज दिने दावी गरिएको छ ।

सुजुकीले आफ्नो सबैभन्दा सस्तो एसयूभी गाडीलाई हाइब्रिड अवतारमा ल्याउन लागेको हो । सन् २०२० को अप्रिलमा डिजेल कारको उत्पादन बन्द गरेपछि पेट्रोल र सीएनजी (कम्प्रेस्ड नेचुरल ग्यास) प्रणालीमा आफ्नो फोकस बढाएको छ । अहिले कम्पनीको लाइन–अपमा डेढ दर्जनभन्दा बढी सीएनजी कार छन् ।

इलेक्ट्रिक सेगमेन्टमा चाहीँ सुजुकीले आफ्नो पहिलो ईलेक्ट्रिय एसयूभी ‘मारुती ई–भीएक्स’ बजारमा ल्याउने तयारीमा छ । यसका सथै कम्पनीले हाइब्रिड सेगमेन्टमा पनि ठूलै दाउ खेल्न खोजिरहेको छ ।

अहिले भारतीय बजारमा हाइब्रिड कारले इलेक्ट्रिकको बजारलाई उछिनेको छ । भारतमा भारीभर्कम गाडीको निर्माण गर्ने टाटा मोटर्सले ईभीमा राज गरेको छ । यस्तो बेला मारुती चाहीँ हाइब्रिडमा ज्यादा फोकस हुन खोजेको देखिन्छ ।

जापानी कार निर्माता टोयोटा र भारतीय निर्माता मारुती अहिले ईभीभन्दा पनि हाइब्रिडमा ज्यादा केन्द्रित छन् । मारुती सुजुकीले ‘मल्टि–फ्यूल’ रणनीतिमा पनि काम गरिहेको छ । हालैमात्र उसले बायोग्यासबाट चल्ने वागन आर सीबीजी र ब्रेज्जा सीबीजीको कन्सेप्ट अघि सारेको छ । यही रफ्तारमा उसले इलेक्ट्रीक र आईसीई (पेट्रोल–डिजेलबाट चल्ने)को संयुक्त स्वरुपमा सबैभन्दा सस्तो हाइब्रिड कार तयार गर्न लागेको हो

सन् २०२३ मा पहिलो पटक सार्वजनिक भएको सुजुकी फ्रङ्क्स भारतमा बिक्री सुरु भएको १० महिनामा १ लाख युनिट उत्पादन पुरा भएको मोडल हो । भारतमा हुन्डाई एक्सटर र टाटा पन्चसँग प्रतिस्पर्धा गरिरहेको फ्रङ्क्स सफल मोडल मानिन्छ ।

अहिले चार मिटर सेग्मेन्टमा कुनै पनि मोडल हाइब्रिड इन्जिनमा उपलब्ध छैन । बजारको यही ‘ग्याप’ भर्न सुजुकीले फ्रङ्क्सलाई हाइब्रिड मोडलमा ल्याउन लागेको हो । कम्पनीले यसमा हाइब्रिड इन्जिनसँगै अन्य थुप्रै आधुनिक फिचरहरु समावेश गरेको छ ।

अहिले पनि नेपाली बजारमा फ्रङ्क्स मोडलका गाडी उपलब्ध छन् । तर यसको हाइब्रिड मोडल पनि नेपाली बजारमा उपलब्ध हुनेछ ।


प्रतिक्रिया दिनुहोस्