आपतकालिन ढोका खोल्ने यात्रुबाट प्राप्त क्षतिपूर्ति रकम परोपकारी संस्थालाई « Arthapath.com
१८ पुष २०८१, बिहीबार

आपतकालिन ढोका खोल्ने यात्रुबाट प्राप्त क्षतिपूर्ति रकम परोपकारी संस्थालाई



काठमाडौँ । बुद्ध एयरले जनकपुरधामको महागंगा आरती–गंगासागर र पोखराको वृद्धाश्रमलाई रु। १–१ लाख सहयोग गरेको छ । गत बुधबार (उडान संख्या ६१८) को उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा जहाजको इमरजेन्सी ढोका खोलेपछि उनलाई जरिवाना तिराइएको पैसा बुद्ध एयरले सामाजिक संस्थालाई दान गरेको हो ।

उक्त जहाज प्राविधिक टोलीको विस्तृत परीक्षणपछि निर्धारित समयभन्दा करिब ३ घण्टा ढिलो गरी साँझ ६ः४० मा काठमाडौका लागि उडेको थियो ।

यसैगरि काठमाडौंबाट जनकपुरका लागि अक्टोबर १० का दिन बिहान ६ः०५ मा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो । जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले जहाजको इमर्जेन्सी ढोका खोलेका थिए ।

उक्त घटनापछि चालक दलले जहाज पार्किङ–वेमै फर्काएका थिए । जहाजको प्राविधिक जाँचका लागि काठमाडौंबाट टेक्निकल टिम गई सम्पूर्ण चेकजाँचपछि दिउँसो १ बजे जनकपुर अवतरण गरेको थियो । यसबाट उडान प्रक्रिया अवरुद्ध भई त्यस दिनको उडान तालिका निकै प्रभावित बनेको थियो ।

अनाहकमा इमरजेन्सी ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीलाई जिम्मा लगाइने गरिएको छ । यात्रुले अब उप्रान्त यस्तो कार्य नगर्ने शर्तमा क्रमशः रु। १ लाख क्षतिपूर्ति तिराइएको थियो ।

आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृत रुपमा यात्रुहरूलाई जानकारी गराएका हुन्छन् । आपतकालीन अवस्थामा बाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ ।

हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन), २०१५’ अनुसार १ देखि ३ वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ ।

बुद्ध एयरले यस्ता यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाउने गरेको छ । विमान कम्पनीले उडान सुरक्षामा अनाहक खलल पुर्‍याउने यात्रुलाई उडानमा थप प्रतिबन्ध लगाउँछन् ।

बुध्द एयरले अनाकहमा इमरजेन्सी ढोका खोल्ने यात्रुबाट क्षतिपूर्ति रकम १ लाख रुपैयाँ तिराई तिनै गन्तव्यका परोपकारी संस्थालाई सहयोग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्