बढ्न थाल्यो सुन आयातको आँकडा, नेपाल भित्रियो साढे १४ अर्ब बढीको १२०० केजी सुन « Arthapath.com
८ चैत्र २०८१, शुक्रबार

बढ्न थाल्यो सुन आयातको आँकडा, नेपाल भित्रियो साढे १४ अर्ब बढीको १२०० केजी सुन



काठमाडौं । पछिल्लो समय सुनको आयातको आँकडा बढ्दो छ । सरकारले सुनको भन्सार शुल्क घटाएसँगै आयात ह्वात्तै बढ्न थालेको हो । पछिल्लो आठ महिनामै साढे १४ अर्ब बढीको १२०० केजी बढी सुन आयात भएका छन् ।

सरकारे गत मंसिर ६ गते सरकारले सुनको भन्सार शुल्क १० प्रतिशतमा झारेको छ । त्यसभन्दा अघि भने यस्तो शुल्क २० प्रतिशत रहेको थियो । भन्सार शुल्क घटेसँगै सुन आयात धमाधम बढी रहेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्ममा कुल १४ अर्ब ७७ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको सुन र सुनका गहना आयात भएको छ । सो अवधिमा १ हजार २२३ केजी ४७१ ग्राम सुन र सुनका गहना आयात भएको विभागले जननाएको छ ।

फागुन महिनामा मात्रै ३०५ केजी ५८० सुन र गहना आयात भएको देखिन्छ । फागुनमा ३ अर्ब ९६ करोड ८६ लाख ६९ हजार रुपैयाँ बराबरको आयात भएको हो ।

गत भदौ, असोजमा करिब ठप्प जस्तै रहेको सुन आयात पछिल्लो समय बढ्न थालेको छ । विशेषगरि पुसदेखि यता सुन आयात बढेको हो । विभागका अनुसार चालु आवको साउनमा १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ बराबरको १०५ केजी १५० ग्राम सुन र गहना आयात भएको थियो । यस्तै, भदौमा भने ३ करोड ६० लाखको ३ केजी र असोजमा ५ करोड ८९ लाख बराबरको ५ केजी हाराहारीमा सुन आयात भएको विभागले जनाएको छ । त्यसपछिका महिनामा भने वृद्धि भएको छ ।

विभागका अनुसार कात्तिकमा ३६ केजी र मंसिरमा ५७ केजी सुन र गहना आयात भएका थिए । तर, गत पुस महिनामा भने यो वर्षकै उच्च अर्थात् ४०२ केजी सुन र गहना आयात भएको थियो । पुसमा ४ अर्ब ६९ करोड ९० लाख रुपैयाँ बराबरको सो दरमा सुन र गहना आयात भएका थिए । यस्तै, गत माघ महिनामा पनि ३ अर्ब ८२ करोड २१ लाख रुपैयाँ बराबरको ३०७ केजी सुन र गहना आयात भएको थियो ।

चालु आवको ८ महिनामा सुन आयातबाट सरकारले १ अर्ब ६१ करोड २ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ । गत फागुनमा मात्रै सुन र गहना आयातबाट सरकारले ३९ करोड ३८ लाख रुपैयाँ राजश्व पाएको छ ।

विभागका अनुसार माघमा ३७ करोड ८४ लाख, पुसमा ४६ करोड ८५ लाख, मंसिरमा ६ करोड ५७ लाख, कात्तिकमा ८ करोड ११ लाख, असोजमा ५५ लाख र भदौमा ३२ लाख र साउनमा २१ करोड ३६ लाख रुपैयाँ राजश्व उठेको थियो ।

हाल सुन आयात गर्ने जिम्मा वाणिज्य बैंकहरुलाई छ । उनीहरुले दैनिक २० केजी सुन आयात गर्न पाउने कानुनी व्यवस्था छ । हाल विश्वका दुई दर्जन बढी मुलुकबाट सुन आयात हुने गरेको छ ।

युनाईटेड अरब इमिरेट् (युएई), टर्की, कतार, मलेसिया, हङकङ, चीन, भारतबाट ठुलो मात्रामा काँचो सुन आयात हुने गरेको छ । यस बाहेक साउदी अरेबिया, थाइल्याण्ड, अमेरिका, कुबेत, बेञ्जियम, सिंगापुर, कोरिया, जापान लगायतका २ दर्जन बढी देशहरुबाट सुन तथा यसका गरगहना आयात हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्