मेटलाइफको विशेष योजना: निष्क्रिय जीवन बीमा पोलिसी नवीकरण गर्दा शतप्रतिशतसम्म जरिवाना छुट
काठमाडौं । मेटलाइफ नेपालले निष्क्रिय (ल्याप्स) भएका जीवन बीमा पोलिसी पुनः सक्रिय बनाउन सीमित अवधिका लागि विशेष योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले ‘वन बाइ मेटलाइफ’ मोबाइल एप वा कम्पनीका शाखा कार्यालयमार्फत पोलिसी नवीकरण गर्दा ढिला शुल्कमा शतप्रतिशतसम्म छुट पाउनेछन्।
कम्पनीका अनुसार पाँच वर्षभित्र निष्क्रिय भएका पोलिसीमा ढिला शुल्क शतप्रतिशत छुट दिइनेछ भने पाँच वर्षभन्दा बढी समयदेखि निष्क्रिय रहेका पोलिसीमा ७५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ। यो योजना असार ४ देखि साउन १, २०८३ (जुन १८ देखि जुलाई १६, २०२६) सम्म सञ्चालन हुनेछ।
ग्राहकले ‘वन बाइ मेटलाइफ’ एपमार्फत घरमै बसेर पोलिसी पुनः सक्रिय गर्न सक्ने कम्पनीले जनाएको छ। यसका लागि एपमा लगइन गरी ‘माई इन्स्योरेन्स’ अन्तर्गत रहेको निष्क्रिय पोलिसी छनोट गरेर ‘रिइन्स्टेट पोलिसी’ विकल्पमार्फत आवश्यक विवरण भरी आवेदन दिन सकिनेछ। आवेदनको अवस्थासमेत एपबाटै हेर्न सकिने व्यवस्था गरिएको छ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले बीमा सेवालाई अझ सरल र सहज बनाउने उद्देश्यले यस्तो सुविधा ल्याइएको बताए। उनका अनुसार मोबाइल एपमार्फत ग्राहकले छिटो, सहज र सुविधाजनक रूपमा आफ्नो बीमा सुरक्षा पुनः सक्रिय गर्न सक्नेछन्।
मोबाइल एप प्रयोग गर्न नचाहने ग्राहकले नजिकको मेटलाइफ शाखा कार्यालयबाट पनि यो सुविधा लिन सक्ने कम्पनीले जनाएको छ।













