नेपाल टेलिकमले सब्स्क्रिप्सनमा आधारित स्वतः नवीकरण हुने प्रिपेड प्याकेज ल्यायो « Arthapath.com
१४ असार २०८३, आइतबार

नेपाल टेलिकमले सब्स्क्रिप्सनमा आधारित स्वतः नवीकरण हुने प्रिपेड प्याकेज ल्यायो



काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि मासिक रूपमा स्वतः नवीकरण हुने सब्स्क्रिप्सनमा आधारित नयाँ प्रिपेड प्याकेज सञ्चालनमा ल्याएको छ।

यस व्यवस्थाअन्तर्गत ग्राहकले एकपटक प्याकेज सक्रिय गरेपछि प्रत्येक महिना पुनः सक्रिय गर्नुपर्ने आवश्यकता नपर्ने कम्पनीले जनाएको छ। मोबाइलमा पर्याप्त ब्यालेन्स भएमा प्याकेज स्वतः नवीकरण हुनेछ।

कम्पनीले ३० दिन अवधिका तीन प्रकारका प्याकेज उपलब्ध गराएको छ।

२९९ रुपैयाँको ‘नमस्ते रिकरिङ २९९’ प्याकमा सबै नेटवर्कमा ३०० मिनेट कल, जुनसुकै समयमा प्रयोग गर्न मिल्ने ४ जीबी डाटा, राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने २ जीबी नाइट डाटा तथा कम्पनीकै नेटवर्कमा पठाउन मिल्ने २० वटा एसएमएस उपलब्ध हुनेछ।

४९९ रुपैयाँको ‘नमस्ते रिकरिङ ४९९’ प्याकमा सबै नेटवर्कमा ५०० मिनेट कल, ८ जीबी डाटा, ४ जीबी नाइट डाटा तथा सबै नेटवर्कमा पठाउन मिल्ने १०० वटा एसएमएस समावेश गरिएको छ। त्यसैगरी, ७९९ रुपैयाँको ‘नमस्ते रिकरिङ ७९९’ प्याकमा सबै नेटवर्कमा असीमित कल, प्रतिदिन १० जीबीका दरले मासिक ३०० जीबी डाटा तथा ३०० वटा सबै नेटवर्कमा पठाउन मिल्ने एसएमएस उपलब्ध हुने कम्पनीले जनाएको छ।

टेलिकमले सब्स्क्रिप्सनमा आधारित प्याकेज प्रयोगकर्ताका लागि आवश्यकताअनुसार अतिरिक्त (एड–अन) डाटा प्याकेज पनि उपलब्ध गराएको छ। यसअन्तर्गत ३० रुपैयाँमा १ दिनका लागि १ जीबी, ५० रुपैयाँमा ३ दिनका लागि २ जीबी र ९९ रुपैयाँमा ७ दिनका लागि ४ जीबी डाटा खरिद गर्न सकिनेछ।


प्रतिक्रिया दिनुहोस्