निर्यात बढाउनमा सरकारको छैन ध्यान, व्यापार रणनीतिको लक्ष्य भेटाउन असम्भव

काठमाडौं । आगामी पाँच वर्षभित्र अर्थतन्त्रको आकारको तुलनामा २० प्रतिशत बराबरको निर्यात पुर्याउने लक्ष्य सहित ‘एकीकृत व्यापार रणनीति २०८०’ कार्यान्वयनमा आएको करिव २ वर्ष बित्नै लाग्दा पनि मुलुकको निर्यात व्यापार अपेक्षा गरे जसरी बढ्न सकेको छैन ।
हाल निर्यातको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २.७५ प्रतिशत र कुल व्यापारमा निर्यातको अंश १२.१३ प्रतिशत रहेको छ।
यसले रणनीतिमा सरकारले अपेक्षा गरेजस्तो बाँकी ३ वर्षमा वस्तु र सेवाको निर्यात कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को २० प्रतिशत पुर्याउने लक्ष्य असम्भव देखिएको छ ।
निर्यात सम्भाव्य वस्तुहरूमा हालसम्म कृषि क्षेत्रतर्फ ५ अर्ब ८४ करोड ७० लाख ३८ हजार रुपैयाँको अलैँची, २८ करोड ६९ लाख ९९ हजार रुपैयाँको अदुवा, २३ करोड ४५ लाख ८७ हजार रुपैयाँको दलहन र ३ अर्ब २१ करोड ६२ लाख १५ हजार रुपैयाँको चिया निर्यात भएको छ ।
यस्तै वन क्षेत्रतर्फ ६४ करोड ९० लाख ५९ हजार रुपैयाँको जडीबुटी तथा सुगन्धित वनस्पति, ४१ करोड ३४ लाख ७० हजार लोक्ताबाट बनेका हातेकागज, २४ करोड ८१ लाख २८ हजार रुपैयाँ बराबरको टर्पेन्टाइन र १ अर्ब ३० करोड १२ लाख ६१ हजार रुपैयाँ बराबरको रोजिन निर्यात भएको छ ।
ठूला उद्योगका उत्पादनतर्फ ३ अर्ब ५८ करोड ४२ लाख ४० हजार रुपैयाँको फलाम तथा स्टिल, धागो तथा कपडा, ६ करोड ९५ लाख रुपैयाँको तयारी पोसाक र ६८ करोड ६७ लाख ६८ हजार रुपैयाँ बराबरको जुत्ता निर्यात भएको छ ।
यता ३५ हजार रुपैयाँ बरबरको साना तथा घरेलु उद्योगबाट उत्पादित गलैँचा, ९१ लाख १९ हजार रुपैयाँको गहना, १ अर्ब ३१ करोड ६५ लाख ५३ हजार रुपैयाँको पास्ता, ५ हजार रुपैयाँको मात्र पस्मिना तथा उनबाट बनेका सामान निर्यात भएको छ ।
अब के गर्ने ?
यो लक्ष्य नजिक पुग्न सरकारले पहिचान गरेका निर्यात सम्भाव्यताका वस्तुहरुलाई विकास गर्नतिर ध्यानाकर्षण हुनुपर्ने वाणिज्य मामिलाका जानकार एवम् सरकारका पूर्व सचिव पुरुषोत्तम ओझाको भनाइ छ ।
‘चिया, कफिको निर्यात राम्रै भइरहेको छ । धागो, कार्पेट र इमर्जिङ उत्पादनमा काठका सामग्रीहरुलाई बढी फोकस गर्नुपर्छ’, उनले भने, ‘प्रोडक्ट वाइज डेभलपमेन्ट प्लान आउनुपर्यो ।’
पहिचान भएका ३१ उवस्तुको उत्पादन बढाउने, मूल्य अभिवृद्धि गर्ने र निकासी बढाउने तिर ध्यान दिनुपर्ने ओझा बताउँछन् ।
निर्यात बढाउन सरकारले औद्योगिक लगानी बढाइ रोजगारी बढाउनु पर्ने, आवस्यक दक्ष जनशक्ति मुलुकभित्र उत्पादन गर्नुपर्ने, उत्पादित वस्तुहरुको परीक्षण र प्रमाणिकरण गर्न आवस्यक संयन्त्र तयार पार्नु पर्नेजस्ता सुधारलाई शीघ्र अघि बढान पनि विज्ञले सुझाव दिएका छन् ।
सरकारले कच्चा पदार्थमा लाग्ने भन्सार दर घटाउने र तयारी वस्तुको भन्सार दर बढाएर मुलुकभित्रै उत्पादन गर्ने वातावरण सिर्जना गर्नुपर्ने व्यवसायीको माग रहँदै आएको छ । भलै, सिमेन्ट लगायत केही वस्तुको ‘अति संरक्षण’ले उपभोक्तामाथि बोझ परेको भनेर यस्तो नीतिको आलोचना पनि हुँदै आएको छ।
अहिलेको अवस्था कस्तो छ ?
साउनदेखि फागुनसम्मका ८ महिनाको तथ्यांक केलाउने हो भने पोहोरको तुलनामा यो साल मुलुकको निर्यात व्यापार ५७.२० प्रतिशतले बढेको देखिन्छ । तर यति फराकिलो वृद्धिले पनि हाम्रो व्यापार घाटालाई भने तात्विक रुपमा कम गर्न सकेको छैन ।
निर्यातमा भएको वृद्धिका बावजुद यो साल व्यापार घाटा उल्टै ६.२२ प्रतिशतले बढेर करिव १० खर्ब नजिक पुगेको छ । पोहोर फागुनसम्म ९ खर्ब २९ अर्ब रहेको व्यापार घाटा यो साल ९ खर्ब ८७ अर्ब नाघेको छ ।
प्रतिशतको आँकडाले हाम्रो निर्यातमा उल्लेख्य सुधार देखिए पनि वास्तवमा त्यो निकै कम मूल्य बराबरको छ । वैदेशिक व्यापारको आकारमा भएको वृद्धि अनुसार निर्यातको हिस्सा बढ्न सकेको छैन । योभन्दा ज्यादा जोखिम चाहीँ हामीले गरिरहेको निर्यातको स्रोत हामीसँग छैन ।
‘परनिर्भर’ निर्यात
चालु आर्थिक वर्षको फागुन ससान्तसम्म नेपालले १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ बरावरको वस्तु तथा सेवा निर्यात गरेको छ । तर त्यो निर्यातको ३५.३६ प्रतिशत हिस्सा त केवल भटमास र सूर्यमुखिको तेल नै निर्यात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।
नेपालमै भटमास तथा सूर्यमुखीको ब्यापक उत्पादन गरेर यी तेल विदेश निर्यात भने भएको होइन । विदेशबाटै कच्चा पदार्थ आयात गरी यसलाई प्रशोधन गरेर निर्यात गरिएको हो ।
यसका लगि हामीले युक्रेनदेखि ल्याटिन अमेरिकासम्मबाट भटमास र सूर्यमुखि आयात गर्छौँ । त्यसलाई प्रशोधन मार्फत् थोरबहुत मूल्य अभिवृद्धि गरेर भारतमा बेच्छौँ । यस प्रकारको ‘परनिर्भर’ व्यापारले नेपालको निर्यातलाई दिगो बनाउन मद्दत नगर्ने विज्ञहरुको तर्क छ ।
नेपालमा स्थानीय बजारमा भटमास उत्पादन गरेर तेल प्रशोधन गर्न सक्ने अवस्था नहुँदा मासिक रुपमा अर्बौ रुपैयाँ खर्च गरेर तेस्रो मुलुकबाट आयात हुने गर्छ । यसमा बजार र स्रोत दुबैतर्फ जोखिम रहेको छ ।
भारतले निश्चित प्रतिशत कुनै बहानामा नेपालबाट भइरहेको यस प्रकारको तेल आयातमा अवरोध गर्यो भने हामी अप्ठेरोमा पर्छौं । अर्कातर्फ कच्चा पदार्थको स्रोत मुलुकमा गडबडी भयो भने पनि हामीलाई समस्या पर्छ । तीन वर्ष अघि युक्रेनमा युद्ध छेडिएर त्यहाँका बन्दरगाहहरु बन्द हुँदा नेपालमा सूर्यमुखिको हाहाकार भएको थियो ।
दक्षिण—पश्चिम एसियाली राष्ट्रहरुले पाम निर्यातमा कडाई गर्दा हाम्रो ‘प्रशोधन’ उद्योग धर्मराएको थियो ।
यस्ता छन् नेपालबाट निर्यात हुने प्रमुख १० वस्तु
चालु आर्थिक वर्ष २०८१÷८२ को ८ महिनामा नेपालबाट सबैभन्दा बढी ४७ अर्ब ९४ करोड ७१ लख रुपैयाँ बरावरको सोयाविन तेल निर्यात भएको छ । जुन कुल निर्यातको ३०.३१ प्रतिशत हो ।
यस्तै नेपालले निर्यात गर्ने वस्तुको दोस्रो स्थानमा रहेको सूर्यमुखी तेल ७ अर्ब ९८ करोड २३ लाख ५२ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । यसले कुल निर्यातबाट भएको आम्दानी को ५ प्रतिशत हिस्सा ओगट्छ ।
नेपालबाट निर्यात हुने वस्तुको तेस्रो र चौथो नम्बरमा कार्पेट र अलौंची रहेका छन् । यस अवधिमा नेपालबाट ७ अर्ब २१ करोड २४ लाख २९ हजार रुपैयाँ बरावरको कार्पेट र ५ अर्ब ८४ करोड ७० लाख ३८ हजार रुपैयाँ बरावरको अलैँची निर्यात भएको छ।
त्यसपछि ३ अर्ब ५८ करोडको फलामजन्य वस्तु, ३ अर्ब ४५ करोडको जुट, ३ अर्ब ४१ करोडको पोलिस्टर धागो, ३ अर्ब ६५ करोडको धागो, ३ अर्ब ३१ करोडको जुस, ३ अर्ब २१ करोडको चिया, ३ अर्ब १७ करोडको प्लाइउड र ३ अर्ब १३ करोडको उmनजन्य वस्तु निर्यात भएको छ ।