के लागूऔषधको कारोबार बढेको हो ? देशभरबाट एकै दिन १९ जना पक्राउ

काठमाडौं । मकवानपुरको हेटौंडा– १० बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ मिलिग्राम सहित १९ वर्षीय जिजस घलानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनी हेटौँडा– ४, कमलडाँडाका स्थायी वासिन्दा हुन् । त्यही कमलडाँडाबाटै अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने ५ मिलिग्राम सहित स्थानीय २० वर्षे विशाल लिम्बु पनि पक्राउ परेका छन् ।
पश्चिम नेपालको कैलालीबाट पनि २ जना पक्राउ परेका छन् । धनगढी– ३ ट्राफिक चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित उनीहरुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यसरी पक्राउ पर्नेहरूमा धनगढी– १३ मोहनपुर बस्ने २८ वर्षीय रबिन्द्र बुढा र वडा नं. ५ हसनपुर बस्ने २६ वर्षीय विराट रावल रहेको प्रहरीले बताएको छ ।
वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङको घोराही– १० पहेलपार गाँउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्राम सहित अर्को २ जनालाई पनि शनिबारै प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा स्थानीय २५ वर्षीय समिर वली र वडा नं. १२ बस्दै आएका, तर रोल्पाको परिवर्तन गाउँपालिका बागमारा ताईवाङ घर भएका २८ वर्षीय करण बुढा मगर रहेका छन् ।
उता बाँकेको जानकी गाउँपालिका– ५ बुडियागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३९ ग्राम ६० मिलिग्राम र नगद ४२ हजार ६ सय ५० रूपैयाँ सहित ६६ वर्षीय रम्मन खान पनि प्रहरीको नियन्त्रणमा पुगेको छन् ।
खानले प्रयोग गरेको ‘भे ६ प ३३०७’ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको जनाएको छ ।
पूर्वी नेपालको मोरङमा पनि ४ जना पक्राउ परेका छन् । विराटनगर– १५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम सहित ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा– १० बस्ने २३ वर्षीय गणेश दाहाल, २७ वर्षीय सुमन कोइराला, २९ वर्षीय डिकेश कार्की र २६ वर्षीय यज्ञ राम कार्की रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
संघीय राजधानी काठमाडौंमा पनि यस्तै घटना भएको छ । नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ४० ट्याब्लेट सहित भक्तपुर बोडे डेरा गरी बस्ने मकवानपुर घर भएका २८ वर्षीय दावा छिरिङ स्याङतानलाई शनिबार दिउँसो प्रहरीले जोरपाटीबाट पक्राउ गरेको छ ।
बर्दियाको बढैयाताल– ७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित अर्को २ जना पक्राउ परेका छन् । मधुवन नगरपालिका– ४ बस्ने २७ वर्षीय रन्जित चौधरी र ३४ वर्षीय कालुराम चौधरी रहेका छन् । ्
प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे १० प ८०३४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुरको त्रियुगा नगरपालिका– ५ विलाउनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ करिब ६ ग्राम सहित २ जना पक्राउ परेका छन् । मोतिगडा बस्ने ३७ वर्षीय रोहित चौधरी र ३१ वर्षीय नागेश्वर चौधरी पक्राउ परेका हुन् ।
प्रहरीले सप्तरीबाट गाइघाटतर्फ आउँदै गरेको ‘प्र.२–०१–००२ प ७८६३’ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा जिल्लको लहान नगरपालिका– १९ कटहा कालाबन्जरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३६ एम्पुल, बुप्रेनोर्फिन ३६ एम्पुल, प्रोमेथाजाइन ३६ एम्पुल र नाइट्राजेपाम ३ सय ४० ट्याब्लेट सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेहरूमा सखुवानन्कारकट्टी– २ बस्ने २१ वर्षीय अमरेश कुमार यादव, लहान– २० बस्ने २३ वर्षीय पंकज शर्मा र लहान– १ बस्ने १९ वर्षीय राजिव कुमार दास रहेका छन् ।