८४ कम्पनीको साढे ५४ अर्ब सेयर निष्काशन अलपत्र, अनुमति दिन किन डराए सन्तोष नारायण ?

काठमाडाैं । अहिले नेपाल धितोपत्र बोर्डमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) का लागि पाइपलाइनमा रहेका कम्पनीको संख्या ८४ पुगेको छ ।
बोर्डका अनुसार हाल उक्त कम्पनीले ५४ अर्ब ३४ करोड ७१ लाख ६१ हजार ३३२ रुपैयाँ बराबरको ३८ करोड ७३ लाख ८४ हजार ८८२ कित्ता निष्काशनका लागि अनुमति माग गरेका छन । तर समयमा निणर्य हुन नसक्दा सेबोनमा आईपिओका लागि अनुमति माग्ने कम्पनीहरुको चाङ लागेको छ ।
अनुमतिका लागि पाइपलाइनमा रहेका कम्पनी मध्ये सबैभन्दा बढी हाइड्रोपावर कम्पनी रहेका छन् । हाल बोर्डमा बोर्डमा ४३ हाइड्रोपावर कम्पनी, १६ उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनी, ७ होटल तथा पर्यटन क्षेत्रका कम्पनी, ६ वटा माइक्रो इन्स्योरेन्स कम्पनी, माइक्रो फइनान्स एक र अन्य क्षेत्रका ११ वटा कम्पनी निष्काशन प्रक्रयामा रहेका छन्।
लामो समयपछि बोर्डले नेतृत्व पाउँदा पाइपलाइनमा रहेका आईपीओ निष्कासन हुने अपेक्षा आम लगानीकर्ताहरुले गरेका थिए । गत मंसिर दोस्रो साता बोर्डको अध्यक्षमा नियुक्त भएका सन्तोष नारायण श्रेष्ठले एकाध बाहेक अन्य कम्पनीको सेयर निष्काशनको अनुमति दिन सकेका छैनन् । बोर्डमा आइपिओ निष्कासन गर्न माग गर्दै आवेदन दिने कम्पनीहरूको चाङ लागे पनि श्रेष्ठले कुनै चासो नदेखाएको गुनासो आइरहेको छ ।
सार्वजनिक लेखा समितिको हस्तक्षेप, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परिक्षकले देखाएको कैफियतका कारण श्रेष्ठले सेयर निष्काशनको अनुमति दिन सकिरहेका छैनन । लेखा समितिले गत पुसमा प्रतिसेयर नेटवर्थ ९० प्रतिशत भन्दा कम भएका कम्पनीहरुलाई आइपिओ स्वस्कृति नदिन निर्देशन दिएको थियो ।
समितिको निर्देशन वेवास्ता गरेर निष्काशनको स्वीकृती दिन नसकिने हुँदा आईपीओ निष्कासनको स्वीकृति दिन असहज भएको बताइएको छ । अहिले आईपीओका लागि स्वीकृत मागेका अधिकांश हाइड्रोपावर कम्पनीको प्रतिसेयर नेटवर्थ ९० प्रतिशत भन्दा कम छ।
सार्वजनिक निष्कासनका लागि लामो समयदेखि पर्खाइमा रहँदा दर्जनौं कम्पनीका अर्बौंको आयोजनालाई क्षति भइरहेको स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) अध्यक्ष गणेश कार्कीले बताए ।
लामो समयदेखि सार्वजनिक निष्कासन मार्फत पूँजी जुटाउन नसक्दा अर्बौं नोक्सानी बेहोर्नु परेको उनको भनाइ छ । उनले भने, ‘क्षति भइसकेको छ, अझै कति हुने ठेगान छैन, बोर्ड र सरकारले त्यसमा ध्यान दिन जरुरी छ।’
हालसम्म कुन कम्पनीको कति रुपैयाँ बराबरको आइपिओ निष्काशको पाइपलाइनमा छन् ?