भारतीय बजारमा टाटा ह्यारियर ईभीको धमाकेदार प्रवेश, महिन्द्रा ‘बीई सिक्स’लाई जबरजस्त चुनौती « Arthapath.com
६ असार २०८३, शनिबार

भारतीय बजारमा टाटा ह्यारियर ईभीको धमाकेदार प्रवेश, महिन्द्रा ‘बीई सिक्स’लाई जबरजस्त चुनौती



काठमाडाैं । भारतको अग्रणी अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्नो चर्चित एसयुभीको पूर्ण इलेक्ट्रिक संस्करण ह्यारियर ईभी लञ्च गरेको छ ।

मंगलबार भारतमा लञ्च भएको टाटा मोटर्सको ह्यारीयर ईभीको सुरुआती मूल्य २१.४९ लाख भारतिय रूपैयाँ राखिएको छ, जुन एक्स–शोरूम दर हो।

ह्यारियर ईभीले टाटा मोटर्सको विद्युतीय सवारी साधनमा थप बलियो उपस्थिति जनाउने संकेत दिएको छ।
यो कार ह्यारियर ईभी एड्भेन्चर, फियरलेस, र इम्पावर्ड गरी तीन भेरियन्टमा उपलब्ध छ, साथै एक विशेष स्टिल्थ एडिसन पनि ल्याइएको छ।

चार आकर्षक रङ प्रिस्टिन ह्वाइट, पियोर ग्रे, इम्पावर्ड अक्साइड, र नैनीताल नोक्टर्नले यसलाई अझ स्टाइलिश बनाएको छ।

उत्कृष्ट पर्फर्मेन्स र रेंजः शक्तिशाली मोटर, छिटो चार्ज, र प्रिमियम सुविधाहरू

ह्यारियर ईभी दुई फरक ब्याट्री विकल्पमा उपलब्ध छ—६५ किलोवाट आवर र ७५ किलोवाट आवर। ६५ किलोवाट ब्याट्री भएको मोडेलमा रियर–व्हील ड्राइभ सिस्टम दिइएको छ, जसले २३५ बिएचपी पावर उत्पादन गर्छ भने ५०५ किमी सम्मको रेंज दिन्छ।

त्यस्तै, ७५ किलोवाट ब्याट्री भएको मोडेलमा डुअल मोटर र क्वाड–व्हील ड्राइभ प्रणाली जडान गरिएको छ, जसले ३९० बिएचपी पावर र ५०४ एनएम टर्क प्रदान गर्छ। यसको क्युडब्लुडी संस्करणले ६२७ किमी सम्मको दाबी गरिएको रेञ्ज दिन सक्छ।
कम्पनीका अनुसार, यो ईभीले ० देखि १०० किमी÷घण्टा पुग्न ६.३ सेकेन्ड मात्र लाग्छ। साथै, १५ मिनेटको फास्ट चार्जिङबाट २५० किमीको यात्रा गर्न पर्याप्त चार्ज दिन सक्छ।

यस कारमा १४.५३ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, वायरलेस चार्जिङ, डुअल–जोन क्लाइमेट कन्ट्रोल, स्वचालित पार्किङ, ७ एयरब्याग, हिल डिसेन्स कन्ट्रोल, ५४०–डिग्री साउन्ड क्यामेरा र २० भन्दा बढी एडिएस फिचरहरू जस्ता अत्याधुनिक सुविधाहरू छन्। कम्पनीले यसको ब्याट्री प्याकमा लाइफटाइम वारेन्टी दिने घोषणा गरेको छ।

टाटा मोटर्सका प्रवन्ध निर्देशक शैलेश चन्द्रले ह्यारियर ईभीलाई भारतकै सबैभन्दा सक्षम इभी भन्दै नयाँ एसयुभीको परिभाषा पुनर्लेखन गरेको दाबी गरेका छन्।

महिन्द्र बिइ ६ सँग प्रत्यक्ष प्रतिस्पर्धा

भारतको बढ्दो इलेक्ट्रिक एसयुभी बजारमा ह्यारियर ईभीको प्रमुख प्रतिस्पर्धी महिन्द्र बिइ ६ हो । यसको टप संस्करणमा ७९ किलोवाट आवर ब्याट्री राखिएको छ र ६३८ किमी सम्मको रेञ्ज दाबी गरिएको छ। बिइ ६ को मूल्य १९.४० लाखदेखि २७.४० लाखसम्म पर्छ, जुन ह्यारियर ईभीकै मूल्य दायरामा पर्छ।

जहाँ बिइ ६ ले स्लिक कुपे–स्टाइल डिजाइन ल्याएको छ, त्यहाँ ह्यारियर ईभीले पारम्परिक एसयुभी डिजाइनमा आधुनिक विद्युतीय प्रविधि मिसाएर प्रस्तुत गरेको छ।

टाटा मोटर्सले यसको शक्तिशाली मोटर, लामो रेञ्ज र प्रिमियम सुविधाले नयाँ विद्युतीय ग्राहक मात्र नभई परम्परागत एसयुभी चाहनेहरूलाई समेत आकर्षित गर्ने दाबी गरेको छ।

भारतमा ह्यारियर ईभीको बुकिङ २ जुलाई २०२५ देखि खुल्दैछ। कम्पनीले यसको ब्याट्री प्याकमा लाइफटाइम वारेन्टी दिने घोषणा गरेको छ, जसले ग्राहकलाई अझ आत्मविश्वास दिलाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्