आयात शुल्क घटाउने भरतको नयाँ नीतिले नेपाली तेल उद्योगमा संकट ! « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

आयात शुल्क घटाउने भरतको नयाँ नीतिले नेपाली तेल उद्योगमा संकट !



काठमाडाैं । भारतले कच्चा खाद्य तेलको आयात शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि नेपाली तेल उद्योग संकटमा परेको छ।

यसबाट तेस्रो देशबाट कच्चा पदार्थ आयात गरी प्रशोधनपश्चात् भारत निर्यात गर्दै आएका नेपाली व्यवसायीहरुलाई गम्भिर असर पर्ने देखिएको छ ।

अब भारतमा तेल निर्यात गर्न चर्को प्रतिस्पर्धा सहनुपर्ने र त्यसको सीधा असर नेपालको निर्यातमा पर्न सक्ने व्यवसायीहरुले बताएका छन् ।

गत शुक्रबारदेखि लागू भएको भारतको निर्णयले भटमास, सूर्यमुखी र पाम क्रूड तेल सस्तोमा भारत भित्रिन थालेको छ। यिनै कच्चा तेलहरू नेपालले तेस्रो मुलुकबाट आयात गरेर प्रशोधन गरी भारत पठाउने चलन थियो। तर अब भारतीय उत्पादकहरूले सस्तो कच्चा तेल पाउँदा लागत घट्ने भएकाले नेपाली व्यवसायीहरू प्रतिस्पर्धाबाट पछि पर्ने चिन्ता बढेको हो ।

आँकडाले के भन्छ ?
तेस्रो देशबाट कच्चा पदार्थका रूपमा आयातपश्चात् नेपालमा प्रशोधित भई बेचिने खाद्य तेलले निर्यातमा ठूलो हिस्सा ओगट्दै आएको छ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालले ७८ अर्ब १८ करोड रुपैयाँको भटमास तेल निर्यात गरेको छ । अघिल्लो वर्षको यस अवधिमा १ अर्ब १८ करोड रुपैयाँको भटमास तेल निर्यात भएको थियो ।

यस्तै सूर्यमुखी तेलको निर्यात १५ करोड १९ लाखबाट १० अर्ब ९ करोड पुगेको छ भने पाम र पामोलिनको निर्यात भने घट्दै गएको छ । अघिल्लो वर्ष ६ अर्ब ३१ करोडबाट यस वर्ष १ अर्ब ९३ करोडमा झरेको छ।

नेपालले तेल निर्यातमार्फत व्यापार घाटा घटाउन थालेको बेला भारतको शुल्क घटाउने निर्णयले नेपाली उद्योगलाई गम्भीर चुनौती दिएको हो ।

अब के गर्ने ?

भारत अझै खाद्य तेलमा आत्मनिर्भर भएको छैन। सरकारी तथ्यांक अनुसार, त्यो आफ्नै आवश्यकताको झन्डै ५० प्रतिशत तेल बाहिरबाट आयात गर्छ।

भारतले आयात शुल्क घटाएको यो पहिलो पटक भने होइन। यसअघि पनि आन्तरिक बजारमा मूल्यको स्थिरता र आपूर्तिमा सन्तुलन ल्याउन उसले यस्तै निर्णयहरू गरिसकेको छ। र, ती निर्णयहरूको असर नेपाली निर्यातमा राम्रैसँग परेको छ।

भारतको यो कदमले नेपाली बजारमा खासै असर नपर्ने अधिकारीहरुले बताएका छन्, किनभने तेल उपभोगको लागि हामी भारतभर निर्भर छैनौं। तर समस्या भने निर्यातमै हो। निर्यातलाई लक्षित गरी जुन स्तरमा उत्पादन भइरहेको छ, त्यो प्रभावित हुन्छ । यसको विकल्प खोज्ने बेला आएको उनीहरुको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्