पतञ्जली जग्गा प्रकरण : को–को बैंकरमाथी लाग्यो मुद्दा ? « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

पतञ्जली जग्गा प्रकरण : को–को बैंकरमाथी लाग्यो मुद्दा ?



काठमाडौं । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालको इतिहासमा पहिलो पटक पूर्वप्रधानमन्त्रीसहित ९३ जना विरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ ।

अख्तियारले एकीकृत समाजवादी पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । त्यसमा झन्डै एक दर्जन व्यक्ति तत्कालिन सनराइज बैंकका उच्च अधिकारीहरु छन् ।

अख्तियारले पतञ्जलीको नाममा हदबन्दी छुटमा जग्गा खरिद गरी दुई महिनाभित्रै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएको आरोपमा १३ बैंकरसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

मुद्दामा बैंकका उच्च अधिकारीहरू र अन्य सरकारी कर्मचारीहरूको संलग्नता देखिएको छ । अख्तियारका अनुसार मुद्दामा तत्कालिन सन्राइज बैंकका १३ उच्च अधिकारीहरू संलग्न देखिएका छन् ।

मुद्दामा प्रमुख आरोपितहरूमा तत्कालीन सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किशोरकुमार महर्जन, सहायक महाप्रबन्धक नीता प्रधान, जोखिम विभागका अधिकृत सुजित पोखरेल, शाखा प्रबन्धक राजीव सापकोटा र अधिकृत ममता पराजुली लगायतका बैंकका अधिकारीहरू छन् ।

यस्तै, सनराइजबैंकका अन्य कर्मचारीहरू जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनाली, उपप्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक विक्रान्त कोइराला, प्रमुख व्यवस्थापक रविनकुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख सञ्जयकुमार सिद्धी, अनुपालन विभागमा कार्यरत सुनिलरत्न स्थापित र नायब महाप्रबन्धक बलराम विष्ट पनि आरोपित छन् ।

अख्तियारका अनुसार तत्कालिन सनराइज बैंकका यी अधिकारीहरूले मिलेर पतञ्जलीको नाममा काभ्रेमा रहेको सरकारी जग्गाको धितो बन्धक पारित गरि ऋण प्रवाह गरेका थिए ।

सनराइज बैंकले हाल लक्ष्मी बैंकसँग मर्ज भईसकेको छ । हाल लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत बैंकिङ कारोबार भइरहेको छ ।

अख्तियारले मुख्य कसुरदारलाई कैद सजाय, १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको विगो असुल, जरिवाना र सोही अनुसार अन्य संलग्नलाई पनि मुख्य दोषी सरह सजाय हुनुपर्ने मागदाबी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्