वल्ड दरबार र भोड्काको बिक्रीले यति डिष्टिलरीलाई चम्कायो, ५४ महिनामा साढे १६ अर्बको व्यापार

काठमाडौं । वल्ड दरबार ह्वीस्की र ८८४८ भोड्का उत्पादन तथा वितरण गर्ने यति डिष्टिलरीको व्यापारमा उल्लेख्य सुधार आएको छ ।
पछिल्लो ५४ महिनामा कम्पनीले १६ अर्ब ७४ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । सन् २०२१ देखि २०२५ को पहिलो ६ महिनासम्म आइपुग्दा सो बराबरको व्यापार गरेको छ ।
सन् २०२५ को पहिलो ६ महिनामा मात्रै २ अर्ब ४९ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले हाल ह्वीस्की, भोड्का, जीन लगायत ६–७ वटा विभिन्न ब्रान्डका मदिराहरू उत्पादन तथा वितरण गर्दै आएको छ ।
गत वर्ष सन् २०२४ मा पनि कम्पनीले ४ अर्ब ७३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । अघिल्लो वर्ष भने ५ अर्ब १७ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
इक्रा नेपालका अनुसार सन् २०२१ मा पनि कम्पनीले ४ अर्ब ३३ करोड ८० लाख र सन् २०२२ मा ५ अर्ब ७२ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
यति डिष्टिलरीेले सन् २००३ मा सस्तो मूल्यका मदिरा उत्पादन गर्दै व्यवसाय सुरु गरेकोे थियो । सन् २०१५ पछिदेखि भने मिडियम र प्रिमियम सेग्मेन्टमा ध्यान केन्द्रित गर्दै वल्ड दरबार ह्वीस्की (२० यूपी, ३० यूपी) र ८८४८ भोड्काजस्ता उत्पादनहरू बजारमा ल्याएको हो । कम्पनीले उत्पादनहरूका लागि आवश्यक पर्ने मल्ट स्पिरिट र इएनए जस्ता कच्चा पदार्थहरू युरोपबाट आयात गर्दै आएको छ ।
नेपालको मदिरा बजारमा ह्वीस्की र भोड्काको उच्च माग रहेको छ । यस्तो पृष्ठभूमिमा यति डिष्टिलरीले यिनै दुई ब्रान्डको बिक्रीमा आफ्नो ध्यान केन्द्रित गरेको छ ।
कम्पनीका अनुसार सन् २०२३ र २०२४ को कुल कारोबारमध्ये ९२ प्रतिशत हिस्सा ह्वीस्की र भोड्काबाट आर्जन गरिएको जनाएको छ ।
कम्पनीमा रवि केसी र अभिषेक श्रेष्ठ तथा उनको परिवारको समान स्वामित्व रहेको छ । कम्पनीमा केसीको ५० प्रतिशत र श्रेष्ठ र उनको परिवारको ५० प्रतिशत स्वामित्व छ ।
कम्पनीले हाल देशभर १३० भन्दा बढी वितरकमार्फत आफ्ना उत्पादनहरू बजारमा पु¥याउँदै आएको छ । कम्पनीले दैनिक ९ हजार केस मदिरा उत्पादन गरी बोटलिङ गर्दै आएको जानकारी दिएको छ ।
यति डिष्टिलरीले कुल ५ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । यसमा दीर्घकालीन कर्जाका लागि ८६ करोड ११ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब ९९ करोड ६१ लाख रुपैयाँ समावेश छन् ।