जगदुल्ला हाइड्रोपावर ठेक्कामा अनियमितता, लेखा समितिमा छानबिनको माग

काठमाडौं । डोल्पास्थित १०६ मेगावाटको जगदुल्ला हाइड्रोपावरको ठेक्का प्रक्रियामा गम्भीर अनियमितता भएको भन्दै संघीय संसद्को लेखा समितिमा छानबिनको माग उठेको छ ।
माओवादी सांसद अमललाल मोदीले ठेक्का प्रक्रियामा सुरुदेखि नै मापदण्ड उल्लंघन गरिएको र केही कम्पनीले जालसाझी गरेर ठेक्का लिएको आरोप लगाए । उनले गुगलमा समेत खोज्दा सहभागी कम्पनीहरूले दाबी गरेका हाइड्रोपावर आयोजनाको कुनै प्रमाण नदेखिएको बताए ।
कांग्रेस सांसद राजन केसीले नक्कली कागजात प्रयोग भएको विषयमा तत्काल छानबिन गर्नुपर्ने र ठेक्कासम्बन्धी प्रक्रिया रोक्न निर्देशन दिनुपर्ने माग गरे । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्राविधिक विशेषज्ञमार्फत कागजातहरूको यथार्थता परीक्षण गर्न सुझाव दिए ।
उजुरीका आधारमा चिनियाँ कम्पनी जेसीई र नेपाली कम्पनी एएनकेले बनाएको जेभीले फर्जी अनुभव देखाएर ठेक्का पाएको दाबी गरिएको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सो प्रकरणमा छानबिन सुरु गरिसकेको छ ।