पसल बन्द गरेर पुनः सडक आन्दोलनमै उत्रिए सुनचाँदी व्यवसायी

काठमाडाैं । सुनचाँदी व्यवसायीहरु पुनः सडक आन्दोलनमा उत्रिएका छन् । यसअघि पनि आन्दोलनमा रहेका सुनचाँदी व्यवसायी सरकारले बजेट संशोधनको बेला माग सम्बोधन गर्ने आश्वासन दिएसँगै ५ असारदेखि आन्दोलन स्थगित गरेका थिए ।
उक्त माग पूरा नभएपछि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः सडकमा आएका हुन् ।
बजेटमार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको भन्दै उनीहरुले विरोध गरिरहेका छन् ।
सुनका सबै किसिमका गरगहनामा लगाएको २ प्रतिशत विलासी कर खारेज गर्नुपर्ने, बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने माग राख्दै उनीहरू व्यवसाय बन्द गरेर आन्दोलनमा थिए ।
उनीहरूले असार मसान्तभित्र माग सम्बोधन नभए विभिन्न विषयगत समूह मार्फत साझा संघर्ष तथा सशक्त आन्दोलन गर्ने चेतावनी व्यवसायीले दिएका छन् ।