भारत-रूस सम्बन्धप्रति असन्तुष्ट ट्रम्प, भोलिदेखि नै लागु हुने गरी भारतीय सामानमा लगाए २५ प्रतिशत कर
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुहरूमा २५ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा पोस्ट गर्दै, भन्सार महसुल आगामी अगस्ट १ (साउन १७) बाट लागू हुने जनाएका छन्, जुन म्याद अमेरिका र भारतबीचको व्यापार सम्झौताका लागि तोकिएको अन्तिम समय हो।
भारत अमेरिकाकाे मित्र राष्ट्र भए पनि भारकाे चर्काे भन्सार शुल्कका कारण व्यापार कम गरेकाे ट्रम्पले उल्लेख गरेका छन् ।
यस्तै ट्रम्पले भारत-रूसकाे सम्बन्धप्रति पनि असन्तुष्टि जनाएका छन् । भारतले रुससँग निरन्तर हतियार र ऊर्जा खरीद गरिरहेकोमा असन्तुष्टि जनाउँदै ट्रम्पले युक्रेनमा युद्ध रोक्न रुसमाथि दबाव दिइरहेका बेला भारत भने त्यसैसँग व्यापार गरिरहेको उनकाे गुनासाे छ।
साथै उनले रुसबाट तेल र हतियार किन्ने कार्यलाई लिएर भारतमाथि अस्पष्ट अतिरिक्त कारबाही पनि गरिने चेतावनी समेत दिएका छन्।
यसैबीच भारतले भने निष्पक्ष, सन्तुलित र आपसी हितमा आधारित द्विपक्षीय व्यापार सम्झौता गर्न प्रतिबद्ध रहेकाे प्रतिक्रिया दिएकाे छ ।
ट्रम्पले यसअघि अप्रिलमा भारतबाट आयात हुने केही वस्तुहरूमा २७ प्रतिशत सम्म भन्सार लगाउने घोषणा गरेका थिए, जुन पछि केही समयका लागि रोकिन पुगेको थियो। तर अब उनले फेरि व्यापार सम्झौता नभए थप महसुल लगाउने चेतावनी दिएका छन्।
अमेरिका र भारतबीच सन् २०२४ मा १९० अर्ब डलरको व्यापार भएको थियो, जहाँ अमेरिका करिब ४५ अर्ब डलर घाटामा थियो।
















