अमेरिकी नेभीको एफ–३५ लडाकु विमान दुर्घटना, पाइलटको सकुशल उद्धार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अमेरिकी नेभीको एफ–३५ लडाकु विमान दुर्घटना, पाइलटको सकुशल उद्धार



एजेन्सी। अमेरिकी नौसेनाको अत्याधुनिक एफ–३५सी लडाकु विमान नेवल एयर स्टेशन लेमोर नजिकै बुधबार साँझ करिब ६:३० बजे दुर्घटना भएको छ।

अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्ति अनुसार, पाइलट सुरक्षितरूपमा बाहिर निस्केका छन् भने दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ।स्थानीय आपतकालीन सेवा टोलीले पाइलटलाई घटनास्थलमै प्राथमिक उपचार दिएको छ।

दुर्घटनास्थल फ्रेस्नो सहरबाट करिब ६४ किलोमिटर दक्षिण–पश्चिममा पर्ने खुला कृषि क्षेत्रमा रहेको थियो। स्थानियद्वारा कैद गरिएका भिडियोहरूमा आगो र बाक्लो कालो धुँवा देखिएको सिएनएनले जनाएको छ।

दुर्घटनामा परेको एफ–३५सी विमान स्ट्राइक फाइटर स्क्वाड्रन भीएफ-१२५ (रफ रेडर्स) अन्तर्गत रहेको थियो, जुन अमेरिकी नौसेनाका पाइलट र एयरक्रुहरूको प्रशिक्षणका लागि जिम्मेवार इकाई हो।

एफ–३५ लाइटनिङ २ विश्वकै एक अत्याधुनिक लडाकु विमान मानिन्छ, जसमा स्टेल्थ टेक्नोलोजी, मल्टीरोल क्षमताहरू र डिजिटल युद्ध प्रणाली जस्ता विशेषता छन्।

दुर्घटनामा परेको एफ–३५सी संस्करण विशेष रूपमा विमानवाहक युद्धपोतहरूबाट उड्नका लागि डिजाइन गरिएको हो। यो सन् २०२५ को दोस्रो एफ–३५ दुर्घटना हो , यसअघि जनवरीमा अलास्कास्थित एयर फोर्स बेसमा एफ–३५ए विमान दुर्घटना भएको थियो।

एफ–३५को मूल्य करिब १०० मिलियन डलर पर्ने बताइन्छ।


प्रतिक्रिया दिनुहोस्