एमालेमा निषेधपछि विद्या भण्डारी पक्षधरले बनाए वैकल्पिक मोर्चा, थापागाउँमा खोलिँदै सम्पर्क कार्यालय « Arthapath.com
५ असार २०८३, शुक्रबार

एमालेमा निषेधपछि विद्या भण्डारी पक्षधरले बनाए वैकल्पिक मोर्चा, थापागाउँमा खोलिँदै सम्पर्क कार्यालय



काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर समुहले छुट्टै सम्पर्क कार्यालय स्थापना गर्ने भएकाे छ ।

पार्टी राजनीतिमा निष्क्रिय बनाउने एमाले निर्णयसँगै पूर्वराष्ट्रपति भण्डारीले अब वैकल्पिक ढंगबाट सक्रियता बढाउने संकेत स्वरूप थापागाउँमा कार्यालय खोल्न लागिएको एक निकट स्राेतले जनाएकाे छ ।

भण्डारीको संरक्षकत्वमा बनेको मदन भण्डारी हिरक जयन्ती मूल व्यवस्थापन समितिले काठमाडौंको थापागाउँस्थित एउटा घर भाडामा लिएर स्थायी कार्यालय स्थापना गर्ने भएकाे हाे ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा गठित ७५ सदस्यीय मूल समिति यसअघि सार्वजनिक कार्यक्रममार्फत जनताको बहुदलीय जनवाद र मदन भण्डारीको विचारधारालाई बहसको मूलधारमा ल्याउने बताउँदै आएको थियो।

तर पछिल्लो समय पार्टीभित्रैको मतभेद र पूर्वराष्ट्रपतिमाथिको निषेधात्मक व्यवहारपछि यो अभियान अब अलग धारको शक्तिशाली सञ्जालमा रूपान्तरण हुँदै गएको विश्लेषण गरिएको छ।

थापागाउँमै रहेको उक्त भवनको ऐतिहासिक पृष्ठभूमि समेत रहेको उल्लेख गरिएको छ, जहाँबाट मदन भण्डारीले २०४८ सालको आमनिर्वाचनको प्रचार अभियानको थालनी गरेका थिए।

एमाले नेतृत्वले पूर्वराष्ट्रपतिलाई राजनीतिक गतिविधिमा संलग्न हुन नदिने रणनीति अपनाएसँगै भण्डारी पक्षधरहरूले वैकल्पिक मोर्चा खोल्ने संकेत यस कार्यालय स्थापनाले दिएको छ।

पार्टीभित्र ‘जबज’ बहस र नेतृत्वप्रति असन्तुष्टि बढिरहेका बेला यो नयाँ कार्यालय एमालेभित्रको शक्ति सन्तुलनमा प्रभाव पार्ने अनुमान विश्लेषकहरूले गरेका छन्।


प्रतिक्रिया दिनुहोस्