सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत तीन योजनाकाे लाभांश घोषणा, कसकाे कति ?
सिद्धार्थ म्यानेजमेन्ट लिमिटेडले व्यवस्थापन गरिरहेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतका बन्दमुखी योजनाहरू, सिद्धार्थ इक्विटी फण्ड (एसइएफ), सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ (एसआइजिएस२) र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ (एसआइजिएस३) ले आर्थिक वर्ष २०७९/८० को नाफाबाट नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेका छन्।
कम्पनीको १२९ औँ सञ्चालक समितिको बैठक साउन २३ गते शुक्रबार बसेको थियो, जसले उक्त योजनाहरूका लगानीकर्तालाई करसहित नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार, सिद्धार्थ इक्विटी फण्ड (एसइएफ) ले २० प्रतिशत दरमा ३० करोड रुपैयाँ बराबरको नगद प्रतिफल वितरण गर्नेछ। त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ (एसआइजिएस२) ले पनि २० प्रतिशत दरमा २५ करोड रुपैयाँ बराबरको लाभांश दिनेछ।
त्यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ ९एसआइजिएस३० ले १९ प्रतिशत दरमा १८ करोड ८५ लाख ६५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सबै योजनाका लाभांशमा कर समावेश गरिएको छ।
कम्पनीले लाभांश वितरणका लागि आवश्यक बुक क्लोज डेट चाँडै सार्वजनिक गरिने जानकारी पनि दिएको छ।












