कक्षा १२ को परीक्षामा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण, कसरी हेर्ने रिजल्ट ? « Arthapath.com
५ असार २०८३, शुक्रबार

कक्षा १२ को परीक्षामा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण, कसरी हेर्ने रिजल्ट ?



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले शैक्षिक वर्ष २०८३ सालको कक्षा १२ को नियमित तथा आंशिक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ ।

बोर्डको आज असार ५ गते बसेको बैठकको निर्णयानुसार गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशन गरिएको हो । यस वर्षको परीक्षामा नियमित र आंशिक तर्फ गरी कुल ४ लाख १६ हजार १७० जना परीक्षार्थीहरू सहभागी भएका थिए ।

सहभागीमध्ये कुल २ लाख ६८ हजार १९० जना परीक्षार्थीहरूले सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन् र समग्रमा यस वर्ष उत्तीर्ण प्रतिशत ६४.१३ रहेको छ ।

विधागत रूपमा हेर्दा नियमित तर्फ ३ लाख ३२ हजार २४१ जना सहभागी भएकोमा २ लाख ३१ हजार ७७० जना (६९.७५ प्रतिशत) उत्तीर्ण भएका छन् भने आंशिक तर्फ ८३ हजार ९२९ जना सहभागी भएकोमा ३६ हजार ४२० जना (४३.३८ प्रतिशत) उत्तीर्ण भएका छन् ।

यसैगरी परीक्षामा मर्यादा विपरीत कार्य गर्ने कुल ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ भने २ जना परीक्षार्थीलाई थप एक वर्ष बोर्डको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको बोर्डले जनाएको छ ।

परीक्षार्थीहरूले आफ्नो परीक्षाफल विभिन्न वेबसाइट, एसएमएस , आईभीआर र युएसएसडी सेवा मार्फत सजिलै हेर्न सक्नेछन् । वेबसाइट मार्फत नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट result.neb.gov.np वा neb.gov.np मा जान सकिनेछ भने नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np मार्फत पनि नतिजा हेर्ने व्यवस्था मिलाइएको छ ।

मोबाइलको एसएमएस मार्फत नतिजा पाउनका लागि म्यासेज बक्समा गएर अंग्रेजीमा ल्भ्द्य लेखी एक स्पेस छाडेर आफ्नो सिम्बोल नम्बर टाइप गरी नेपाल टेलिकमको १६०० नम्बरमा पठाउनुपर्नेछ ।

आईभीआर सेवाका लागि नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो नतिजा सुन्न सकिनेछ भने युएसएसडी सेवाका लागि आफ्नो मोबाइलबाट *१६०१# डायल गरेर प्राप्त निर्देशन अनुसार सहजै नतिजा थाहा पाउन सकिनेछ ।

परीक्षाफलमा चित्त नबुझेका परीक्षार्थीहरूले पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । त्यसका लागि नतिजा प्रकाशन भएको मितिले ७ दिनभित्र (अर्थात असार ६ गते बिहान ११:०० बजेदेखि असार १२ गते साँझ ५:०० बजेसम्म) राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट मार्फत अनलाइन पेमेन्ट (इलष्लिभ एबथmभलत) गरी प्रति विषय रु. १,००० (एक हजार) दस्तुर बुझाउनुपर्नेछ ।

आवेदनका साथमा परीक्षार्थीहरूले शैक्षिक प्रमाणपत्र प्राप्तिका लागि कक्षा ११ र १२ मा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेको ग्रेडसिट वा लेजरको प्रमाणित प्रति अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्