काठमाडौंमा प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सुरु हुँदै
काठमाडौं । टेक तथा बिजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०’ असार ११ र १२ गते काठमाडौंमा आयोजना हुने भएको छ। अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँग सम्बन्धन प्राप्त प्रेसिडेन्सियल ग्राजुएट स्कुलले विद्यार्थीका नवप्रवर्तन र प्राविधिक परियोजनालाई प्रदर्शन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो।
कलेजका अनुसार कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता तथा भविष्यका सीप प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ। यस वर्षको इन्नोभिस्टा कम्प्युटर भिजन तथा कृत्रिम बुद्धिमत्ता (एआई), आइओटी तथा रोबोटिक्स, साइबर भिलेज, सफ्टवेयर र टेक्नोभर्सिटी गरी पाँच विधामा केन्द्रित हुनेछ।
कार्यक्रममा बीएससी आईटीका विद्यार्थीहरूले एआई, सफ्टवेयर तथा वेब डेभलपमेन्ट, साइबर सुरक्षा र मल्टिमिडियासम्बन्धी ५५ भन्दा बढी परियोजना प्रदर्शन गर्नेछन्। करिब १७० विद्यार्थी सहभागी हुने यी परियोजनामा प्राविधिकसँगै व्यावसायिक सम्भावना रहेको कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले बताए।
प्रदर्शनीका आकर्षणमध्ये एफपिभी ड्रोनमार्फत पुष्पवृष्टि गर्ने प्रणाली, फुटबल खेल्ने रोबोट, संगीतमा नाच्ने रोबोट, अनुहारको भाव विश्लेषण गरी संगीत सिफारिस गर्ने एआई प्रणाली, स्मार्ट सिँचाइ, स्मार्ट होम प्रणाली, पर्यटन प्रवर्द्धनसम्बन्धी सफ्टवेयर तथा ३६० डिग्री क्यामेराबाट रिमोटमार्फत सञ्चालन हुने अटोनोमस गाडी रहेका छन्।
साइबर सुरक्षासम्बन्धी परियोजनाले अनलाइन ठगी, डाटा चुहावट तथा बैंक खाताको सुरक्षाजस्ता विषयलाई समेट्ने कलेजले जनाएको छ। कलेजका अनुसार प्लस टु उत्तीर्ण विद्यार्थी, स्नातक तहका विद्यार्थी तथा सूचना प्रविधिमा रुचि राख्ने युवालाई लक्षित कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ।
यसैबीच, भर्खरै प्लस टु उत्तीर्ण गरेका विभिन्न कलेजका ३४ भन्दा बढी विद्यार्थीले प्रेसिडेन्सियल ग्राजुएट स्कुलका विद्यार्थीको मेन्टरसिपमा एक सातासम्म विभिन्न नवप्रवर्तन तयार गरी टेक्नोभर्सिटी प्याभिलियनमा प्रदर्शन गर्नेछन्। उक्त विधाका उत्कृष्ट परियोजनालाई एक लाख रुपैयाँसम्म पुरस्कार प्रदान गरिने कलेजले जनाएको छ।
कलेजले सञ्चालन गरेको बिजनेस इन्क्युबेसन सेन्टरमार्फत उत्कृष्ट परियोजनालाई व्यावसायीकरण गर्न तथा स्टार्टअपका रूपमा विकास गर्न सहजीकरण गरिने जनाइएको छ।
हाल करिब १,४०० विद्यार्थी अध्ययनरत प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा ९० भन्दा बढी प्राध्यापक र ४५ भन्दा बढी व्यवस्थापन कर्मचारी कार्यरत छन्। कलेजले बीएससी आईटी, बीएससी साइबर सेक्युरिटी, बीएससी आर्टिफिसियल इन्टेलिजेन्स, बीबीए, एमबीए, एमबीए आईटी, एमबीए डाटा एनालिटिक्स, एमबीए फाइनान्स एण्ड इकोनोमिक्स तथा एमएससी आईटी लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।












