टुर्गानको अध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग निर्वाचित « Arthapath.com
२९ असार २०८३, सोमबार

टुर्गानको अध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग निर्वाचित



काठमाडौं। गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)को ३३औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट प्रभालक्ष्मी प्रधानाङ्ग अध्यक्षमा निर्वाचित भएका छन्।

शनिबार प्रज्ञा भवनमा सम्पन्न निर्वाचनमा प्रधानाङ्गले २१९ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी उत्तमप्रसाद देवकोटालाई पराजित गरेका हुन्। देवकोटाले १०७ मत प्राप्त गरेका थिए। अन्य पदाधिकारीतर्फ महासचिवमा सुविन सितिखु निर्वाचित भएका छन्। उनले १६६ मत प्राप्त गर्दै १६३ मत ल्याएका रोहितकुमार फुयाललाई पराजित गरेका हुन्।

त्यसैगरी सचिवमा रविन भैनात्व १८० मतसहित विजयी भए। उनका प्रतिस्पर्धी तेजबहादुर श्रेष्ठले १४६ मत प्राप्त गरेका थिए।कोषाध्यक्षमा चनकेशरी कोजू १७४ मतसहित निर्वाचित भए। उनले १५३ मत प्राप्त गरेका ईश्वरबहादुर ढकाललाई पराजित गरेका हुन्।

निर्वाचनपछि नवनिर्वाचित सचिव रविन भैनात्वले नयाँ कार्यसमितिले पर्यटन क्षेत्रको गुणस्तर अभिवृद्धि, पर्यटकको सुरक्षा र नेपालको प्रतिष्ठा कायम राख्न प्राथमिकता दिने बताए। उनका अनुसार गैरकानुनी रूपमा टुर गाइडको काम गर्ने गतिविधिलाई कानुनबमोजिम नियन्त्रण गर्न सम्बन्धित निकायसँग समन्वय गरिनेछ।

उनले व्यावसायिक टुर गाइडहरूको क्षमता अभिवृद्धि, आर्थिक सशक्तीकरण तथा आत्मनिर्भरता बढाउन विभिन्न तालिम, परियोजना र कार्यक्रम सञ्चालन गर्दै आवश्यक सहयोग, अवसर र प्रोत्साहन उपलब्ध गराउने योजनासमेत अघि बढाइने बताए।


प्रतिक्रिया दिनुहोस्