नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासले बुझाए ओहदाको प्रमाणपत्र « Arthapath.com
३० असार २०८३, मंगलबार

नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासले बुझाए ओहदाको प्रमाणपत्र



काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपीए) का नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासले मंगलबार परराष्ट्र मन्त्रालयमा आयोजित समारोहमा परराष्ट्रमन्त्री शिशिर खनालसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन्।

यसअघि करिब एक वर्ष नेपालका लागि युएनएफपीएको अन्तरिम प्रतिनिधिका रूपमा कार्य गरिसकेका श्रीलङ्काली नागरिक हरिदासले जुलाई २०२६ देखि पूर्ण प्रतिनिधिका रूपमा जिम्मेवारी सम्हालेका हुन्।

हरिदाससँग एसिया र अफ्रिकाका विभिन्न मुलुकमा रणनीतिक नेतृत्व, जनसङ्ख्या कार्यक्रम तथा मानवीय सहायताका क्षेत्रमा २३ वर्षभन्दा बढीको अन्तर्राष्ट्रिय अनुभव रहेको युएनएफपीएले जनाएको छ।

ओहदाको प्रमाणपत्र पेसपछि मन्त्री खनाल र प्रतिनिधि हरिदासबीच नेपाल सरकार र युएनएफपीएबीचको दीर्घकालीन साझेदारीलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो। छलफलमा जनसङ्ख्या तथा विकास, यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, लैङ्गिक समानता र तथ्याङ्कमा आधारित नीति निर्माणमा रणनीतिक सहकार्यलाई निरन्तरता दिने विषयमा जोड दिइएको थियो।

त्यसैगरी नेपालको बदलिँदो जनसाङ्ख्यिक अवस्थालाई सम्बोधन गर्न तथा समावेशी र दिगो विकासका लागि जनसाङ्ख्यिक तथ्याङ्क प्रणाली र विश्लेषणलाई थप सुदृढ बनाउने आवश्यकतामाथि पनि दुवै पक्षले जोड दिएका थिए।

परराष्ट्रमन्त्री खनालले जनसङ्ख्या तथा विकासका प्राथमिकता अघि बढाउन र स्वास्थ्य प्रणाली सुदृढ बनाउन नेपालले युएनएफपीएसँगको लामो साझेदारीलाई उच्च महत्त्व दिएको बताए। बदलिँदो जनसाङ्ख्यिक प्रवृत्तिलाई विकास योजनासँग जोड्न युएनएफपीएलगायत विकास साझेदारसँगको रणनीतिक सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

नवनियुक्त प्रतिनिधि हरिदासले नेपालको विकास प्राथमिकता तथा अन्तर्राष्ट्रिय जनसङ्ख्या तथा विकास सम्मेलन (आईसीपीडी) को कार्ययोजनाप्रति युएनएफपीएको प्रतिबद्धता दोहोर्‍याउँदै राष्ट्रिय जनसङ्ख्या प्रणालीलाई थप सुदृढ बनाउन सरकार र अन्य सरोकारवालासँग सहकार्य गर्ने बताए।

नेपाल अहिले महत्वपूर्ण जनसाङ्ख्यिक मोडमा रहेको उल्लेख गर्दै उनले दिगो विकासका लागि जनसाङ्ख्यिक परिवर्तनबाट प्राप्त अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए।

हरिदासले जनसाङ्ख्यिक सूचना तथा ज्ञान प्रणाली सुदृढ गर्ने, महिला, किशोरी र युवाको अधिकार तथा छनोटको संरक्षण गर्ने तथा जनसङ्ख्याको गतिशीलताले समावेशी र दिगो विकासमा योगदान पुर्‍याउने सुनिश्चित गर्न नेपाल सरकारसँगको सहकार्यलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरे।

युएनएफपीएले सन् १९७१ देखि नेपाल सरकारसँग साझेदारी गर्दै यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको प्रवर्द्धन, लैङ्गिक समानता, युवा सशक्तीकरण, जनसङ्ख्या तथ्याङ्क प्रणालीको सुदृढीकरण तथा विकासको मूल प्रवाहमा कसैलाई पनि पछि नपार्ने प्रयासमा सहयोग गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्