मोरङ उद्योग व्यापार संघ आईसीसीको सदस्य, अन्तर्राष्ट्रिय व्यापारमा नयाँ अवसर खुल्यो
काठमाडौं । मोरङ उद्योग व्यापार संघ (एमसीआई) इन्टरनेशनल चेम्बर अफ कमर्स (आईसीसी) को सदस्य बनेको छ। विश्वका एक सयभन्दा बढी देशका उद्योग वाणिज्य संघ, व्यावसायिक संस्था तथा करोडौं व्यवसायिक प्रतिष्ठानको प्रतिनिधित्व गर्ने आईसीसीमा सदस्यता प्राप्त गरेसँगै संघ अन्तर्राष्ट्रिय व्यापारिक सञ्जालसँग प्रत्यक्ष रूपमा जोडिएको हो।
संघका अध्यक्ष अनुपम राठीले सन् २०२५ देखि आईसीसीको सदस्यता प्राप्त भएको जानकारी दिँदै यस उपलब्धिले नेपाली उद्योग तथा व्यवसायका लागि अन्तर्राष्ट्रिय अवसरको नयाँ ढोका खोलेको बताए।
उनका अनुसार अब मोरङ उद्योग व्यापार संघमार्फत नेपाली उद्योगी–व्यवसायीले आईसीसीअन्तर्गत उपलब्ध हुने विश्वस्तरीय सेवा, सुविधा तथा व्यापारिक अवसर उपयोग गर्न सक्नेछन्। आईसीसीले विश्वभर निजी क्षेत्रको हित संरक्षण, अन्तर्राष्ट्रिय व्यापार सहजीकरण, नीतिगत पैरवी तथा व्यावसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
राठीका अनुसार सदस्यतापछि अन्तर्राष्ट्रिय व्यापार, भन्सार नीति, लगानी, बौद्धिक सम्पत्ति अधिकार, डिजिटल अर्थतन्त्रलगायत विषयमा हुने विश्वस्तरीय छलफल तथा नीतिनिर्माण प्रक्रियामा नेपाली निजी क्षेत्रको सहभागिता सुनिश्चित हुनेछ। यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली उद्योगी–व्यवसायीको धारणा र सुझाव राख्ने अवसरसमेत विस्तार गर्ने उनले बताए।
त्यसैगरी, आईसीसीद्वारा सञ्चालन हुँदै आएको एटीए कार्नेट प्रणालीमार्फत अस्थायी आयात–निर्यात प्रक्रिया सहज बनाउन सकिनेछ। निर्यातकर्ताले अन्तर्राष्ट्रिय व्यापारका लागि आवश्यक प्रमाणपत्र, व्यावसायिक सिफारिस तथा अन्य कागजातसमेत संघमार्फत प्राप्त गर्न सक्ने व्यवस्था हुनेछ।
संघले अब आफ्ना सदस्य प्रतिष्ठानलाई विश्वका सयभन्दा बढी देशका चेम्बर तथा व्यावसायिक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापना गराउने जनाएको छ। साथै अन्तर्राष्ट्रिय व्यापार मेला, व्यवसायिक बैठक, बी–टु–बी म्याचमेकिङ, प्रतिनिधिमण्डल आदान–प्रदानलगायत कार्यक्रममा सहभागिताको अवसर पनि उपलब्ध गराइनेछ।
आईसीसीअन्तर्गतको वल्र्ड चेम्बर्स फेडेरेसन (डब्लुसीएफ) का मेन्टरशिप कार्यक्रम, क्षमता अभिवृद्धि तालिम, सेमिनार, वेबिनार तथा नवप्रवर्तनसम्बन्धी कार्यक्रममा पनि संघ र सदस्य उद्योग–व्यवसायले सहभागिता जनाउन सक्नेछन्। साथै, आईसीसीबाट प्रकाशित अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी अध्ययन, प्रतिवेदन र अनुसन्धान सामग्रीमा समेत पहुँच प्राप्त हुनेछ।
अन्तर्राष्ट्रिय व्यापारिक विवाद समाधानका लागि आईसीसीको मध्यस्थता तथा विवाद समाधान सेवा उपयोग गर्न सकिने व्यवस्था पनि सदस्यतासँगै उपलब्ध हुने अध्यक्ष राठीले बताए।
उनले आईसीसीको सदस्यता मोरङ उद्योग व्यापार संघको मात्र नभई समग्र नेपाली उद्योग–व्यवसाय क्षेत्रकै ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसले नेपाली उत्पादन तथा सेवाको अन्तर्राष्ट्रिय बजार विस्तार, निर्यात प्रवर्द्धन, विदेशी लगानी आकर्षण तथा विश्वस्तरमा नेपाली निजी क्षेत्रको आवाज स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।













