अर्थमन्त्रीको दबाबपछि शेयर बजारमा १२० अंककाे बृध्दि, के होला अब मौद्रिक नीतिको व्यवस्था ? « Arthapath.com
२१ भाद्र २०७८, सोमबार

अर्थमन्त्रीको दबाबपछि शेयर बजारमा १२० अंककाे बृध्दि, के होला अब मौद्रिक नीतिको व्यवस्था ?



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले दबाबपूर्ण शैलीमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई शेयर बजारको समस्या सुल्झाउन ‘निर्देशन’ दिएपछि सोमबार शेयर बजारले रङ फेरेको छ । यो समाचार तयार पार्दासम्म शेयर बजार १२० अंक बढिसकेको छ ।

हिजो आइतबार १४७ अंकसम्मको कीर्तिमानी गिरावट भोगेपछि शेयर बजार नयाँ बुलरनबाट फर्किएको अनुमान गरिएको छ । उक्त ‘बीग फल’ले लगानीकर्तालाई त्रसित नै बनाइदियो । गत २ भदौमा नेप्से ३१९९ अंकमा पुगेपछि ओरोलो लाग्न थालेको थियो । हिजो बजार बन्द हुँदा १०८ अंकको गिरावट भोगेपछि परिसूचक २८१८ अंकमा झरेको थियो ।

यसरी कीर्तिमानी उचाइपछिका ९ दिनको ब्यापारमा नेप्से ३८१ अंक (११.९१ प्रतिशत) घटेपछि आज विहानै अर्थमन्त्री जनार्दन शर्माले चासो नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई दबाब दिएको समाचार आएको छ । शेयर लगानीकर्ताले पछिल्लो समय अर्थ मन्त्रीमार्फत् गभर्नरलाई दबाब दिन थुप्रै पहल गरेका थिए ।

अर्थ मन्त्रालयले आज दिउँसो विज्ञप्ती प्रेसित गर्दै ‘शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको’ बताएको छ । ‘राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्नुभएको छ’ विज्ञप्तीमा भनिएको छ ।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले ‘कहाँ के सुधार गर्नुपर्ने हो, त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न’ गभर्नरलाई भनेका छन् । विज्ञप्तीमा नै यस्तो दबाबपूर्ण शब्दावली राखिएपछि यसको असर शेयर बजारमा भने निकै सकारात्मक परेको छ ।

गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाएर ‘परिस्थिति सहज बनाउन प्रयास गर्ने’ प्रतिवद्धता जनाएको कुरा विज्ञप्तीमा उल्लेख छ । मौद्रिक नीतिमा गभर्नर अधिकारीले एक जना लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोडमात्रै शेयर धितो कर्जा लिन सक्ने व्यवस्था गरेका थिए ।

यसअघि कतिपय ठूला लगानीकर्ताले ५० करोडभन्दा बढी पैसा बैंकबाट ऋण लिएर शेयर किनिरहेका थिए । यस्ता लगानीकर्तालाई उक्त व्यवस्थाले एकै पटक अप्ठेरोमा पारेको थियो । यही भएर केही लगानीकर्ताले आइतबार राष्ट्र बैंकमा धर्ना समेत दिएका थिए ।

शेयर बजारलाई विगतमा निकै उक्साउन उनै गभर्नर अधिकारीले पनि खुब प्रयत्न गरे । गत वर्षको मौद्रिक नीतिको मध्यावधी समीक्षादेखि नै शेयर धितो कर्जालाई क्रमशः कडाइ गर्नुपर्ने विभागीय सिफारिस लत्याएका उनले उल्टै आगामी तीन महिना नीतिगत परिवर्तन नहुने प्रत्याभूति दिए ।

त्यसपछि बजार लगातार उकालो लागेको थियो । उच्च विन्दुमा पुगेको बजारबाट अधिकतम जोखिम हुनु स्वभाविक नै हो । नेप्सेले यो बुलरनमा कहाँसम्मको कीर्तिमानी उचाइ पाउन सक्छ भन्ने अनुमान गर्न कठीन छ । तर धेरैले अब बुलरन करीब करीब सकिएको अनुमान गर्न थालेका छन् । यस्तो बेला नवप्रवेशी लगानीकर्ता नराम्रोसँग डुब्ने जोखिम हुन्छ ।

यहीकारण नेपाल राष्ट्र बैंकजस्ता नियामक निकायले क्रमशः बजार नियन्त्रित रेखामा आउने गरी मौद्रिक नीतिलाई विस्तारै कसीलो पार्नुपर्ने माग विज्ञहरुले यसअघि देखि नै गर्दै आएका हुन् । तर राष्ट्र बैंकले एकै पटक ‘घाँटी निचोर्ने’ नीति लिएपछि बजार बढी नै आत्तिएको छ ।

यसको प्रभाव चाहीँ विग्रँदै गएको अर्थमन्त्री र गभर्नरबीचको सम्बन्धलाई झन् चर्काउनेतिर लक्ष्यित छ । जसले आउँदा दिनमा अर्थतन्त्र सही दिशामा डोर्याउन कठीन पर्नसक्ने जानकार बताउँछन् । यसको अर्को असरचाहीँ शेयर धितो कर्जामा सीमा लगाउने मौद्रिक नीतिको उक्त व्यवस्था अब परिमार्जन होला वा नहोला भन्नेमा पनि जोडिने छ ।


प्रतिक्रिया दिनुहोस्