पैसाको जोहो गर्नुहोलाः अप्पर सोलु र हिमालयन हाइड्रोको आईपीओ खुल्दै, क-कसले आवेदन दिन पाउँछन् ? « Arthapath.com
१८ बैशाख २०७९, आईतवार

पैसाको जोहो गर्नुहोलाः अप्पर सोलु र हिमालयन हाइड्रोको आईपीओ खुल्दै, क-कसले आवेदन दिन पाउँछन् ?



काठमाडौं । विभिन्न २ कम्पनीले यसै महिना आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएका छन् । हिमालयन हाइड्रोपावर र अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले बैशाख महिनामा नै आईपीओ निष्कानश तथा बिक्री खुला गर्न लागेका हुन् । यी दुवै कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि साधारण शेयर निष्काशन गर्ने भएका हुन् ।

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले बैशाख २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले चुक्ता पूँजीको १३ करोड ५० लाख रुपयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका १३ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा स्थानिय लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा जेठ ५ गते र सो अवधिसम्म आवेदन नपरेमा जेठ २० गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

त्यस्तै, हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत अर्थात ९ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ९ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा जेठ ८ गते र ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्