हिमालयन हाइड्रोपावरको आईपीओमा झन्डै २ अर्ब संकलन, कतिले भरे आवेदन ?

काठमााडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिन सम्म ९ गुणा भन्दा बढी आवेदन परेको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड अनुसार अन्तिम दिन साँझ ६.१५ बजेसम्म १६ लाख ३ हजार ९७५ जना आवेदकबाट १ करोड ७९ लाख ७ हजार ९४० कित्ता बराबरको १ अर्ब ७९ करोड ७ लाख ९४ हजार रुपैयाँको आवेदन परेको हो । जुन माग भन्दा ९.७८ गुण बढी हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो । तर २ लाख ८१ हजार ७५० कित्ताका लागि मात्रै आवेदन परेकाले बाँकी ६ लाख १८ हजार २५० कित्ता सहित गरी कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी १८ लाख ३० हजार ४७२ कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।