सेयर बजार १८ सय बिन्दुमा झर्यो, निराश लगानीकर्तामा कहिले आउँला उत्साह ?

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा पहिरो गएको छ । सेयर बजारमा निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बन्दैं गएका छन् ।
लगानीकर्ताको मनोबल कमजोर हुँदा पनि बजारमा स्थिरता नदेखिएको हो । पछिल्लो केही दिन बजार बढ्ने र घट्ने प्रवृत्ति पनि हावी भईरहेको छ । पछिल्लो समयमा अर्थतन्त्रका अधिकांश सुचक सुधार तिर गइरहेको अवस्था छ । तर, सरकारद्वारा भइरहेको गतिविधिले सेयर बजारमा उत्साह छाउन नसकेको बताइएको छ । प्रधानमन्त्री पुष्प कमल दाहालले दोस्रो पटक विश्वासको मत पाइसकेका छन् । अब देशले नयाँ अर्थमन्त्री समेत पाउने छ । नयाँ अर्थमन्त्रीले लगानीकर्ताको मनोभावनालाई कसरी बुझ्छ भन्ने अन्यौलले लगानीकर्ता डराएको अवस्था रहेको छ ।
अहिले सेयर बजार सम्बन्धी सदन देखि सडकमा चर्चा भइरहेको छ ।आज संसदमा बोल्दैं हरि ढकालले लगानीकर्ताले अर्ब रुपैयाँ सेयर बजारबाट गुमाउदा समेत सरकारको ध्यान किन नगएको प्रश्न गरेका थिए । सडकमा लगानीकर्ता आन्दोलित बन्दैं गएको अवस्था छ ।
चर्को ब्याजदर, तरलता र राजनीतिक अस्थिरताले पछिल्लो समय बजार बढी प्रभावित बनेपनि हाल यी समस्याहरु क्रमशः सुधारको अवस्थामा रहेका छन् । तरपनि सेयर बजारका लगानीकर्ता सकारात्मक हुन सकेका छैनन् । सेयर बजार निरन्तरजसो घटिरहेका कारण सूचीकृत कम्पनीको मूल्य अहिले निकै सस्तो भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.८७ अकंले घटेर १८८८.२७ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँको कारोबार भएको छ ।
बजार ओरालो लाग्दा १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.४५ प्रतिशत, विकास बैंक समूहको १.४७ प्रतिशत, फाइनान्स समूहको १.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६१ प्रतिशत, हाइड्रोपावर समूहको ०.९४ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.९९ प्रतिशतले सेयर मूल्य घटेको छ ।
