सेयर बजार बढ्दा हौसाउनेहरू घट्दा किन बोल्दैनन् ?
काठमाडौं । २०८१ असार १७ गते । दिनभर ठीकठाक थियो । मध्ये रातमा एकाएक राजनीतिक वृत्तमा ठूलै भूकम्प आयो । ‘ब्रेकअप’ र ‘प्याचअप’ भइरहने सत्ता गठबन्धनले मध्यरातमा नयाँ तरंग ल्याइदियो । नेकपा एमालेले आफ्नो सत्ता साझेदार दल नेकपा माओबादीलाई धोका दिँदै नेपाली कांग्रेससँग सत्ता साझेदार गर्ने निर्णयमा पुग्यो ।
यसले नेपाली राजनीतिमा ठूलै तरंग ल्यायो । एमाले–कांग्रेसबीच सत्ता साझेदारी गर्ने निर्णयले राजनीतिक वृत मात्र होइन सेयर बजारलाई समेत तरंगित बनाइदियो । करीब ३ वर्षदेखि सुस्ताइरहेको सेयर बजारमा एकाएक उछाल आयो ।
बजार बढ्नुको पछाडि खास कारण केही थिएन । मात्र अर्थमन्त्रीमा लगानीकर्ताले रुचाएका विष्णु पौडेल आउने चर्चा थियो । सोहीअनुसार नै अर्थमन्त्रीमा विष्णु पौडेल नै आए । त्यसपछि त लगानीकर्तालाई के चाहियो र ? बजार घट्छ भन्ने नै बिर्सिए !
बजार एकाएक उकालो लाग्न थाल्यो । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्रीमा एमालेकै विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर एमाले निकट मानिएका महाप्रसाद अधिकारी ।
मौद्रिक नीति पनि लचिलो नै आयो । सेयर धितो कर्जामा लगाइएको संस्थागत तर्फको २० करोडको सीमा खारेज भयो । बजारमा लगानी गर्नेको ओइरो लाग्न थाल्यो । एकैदिन झन्डै ३० अर्बसम्मको कारोबार भयो ।
करीब डेढ महिनामा नै सेयर बजार मापक नेप्से परिसूचक ९४७.४३ अंकले बढ्यो । गत असार १७ गते २०५३.३८ बिन्दुमा रहेको सेयर बजार साउन ३१ गते ३०००.८१ बिन्दुमा पुग्यो । भदौ २ को इन्ट्रा–डे ब्यापारमा त ३ हजार ४८ अंकसम्म पुग्यो ।
यो करीब ३ वर्षयताकै उच्च बिन्दु थियो । साउन अन्तिममा २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको कारोबारसहित ऐतिहासिक रेकर्ड बन्यो । बजारमा यति धेरै पैसा भित्रिएपछि लगानीकर्ताको मनोबल उचालिएको थियो ।
एक त बजारसँग ‘तालमेल’ मिल्ने अर्थमन्त्री । अर्कातिर बजारमा एकपछि अर्को गरी कारोबारमा नयाँ कीर्तिमानी ।
तर साउन ३१ गतेपश्चात सेयर बजारले उक्त बिन्दु छुन सकेन । ‘सामान्य करेक्सन’ भन्दाभन्दै बजार सूचक ४२० अंकले घटिसक्यो । तै पनि बढ्ने छाँटकाँट नै देखिन्न ।
धेरै लगानीकर्ताको कुरा सुन्ने हो भने अहिले पनि बजार घट्नुपर्ने कुनै कारण नै छैन । लगानीकर्ताले रुचाएका ऊनै विष्णु पौडेलले अर्थमन्त्रालयको बागडोर सम्हालिरहेका छन् । ब्याजदर पनि घटिरहेको छ । राष्ट्र बैंकको नीति पनि लचिलो नै छ ।
तर अहिले नेपाली सेयर बजार जसरी उचालिएको थियो, त्यसैगरी थेच्चारिँदै छ । जुन गतिले बजार उकालो लाग्यो, त्यही रफ्तारमा ओरालो झर्दै छ ।
बजार लगातार बढिरहँदा अर्थमन्त्री पौडेलले लगानीकर्ता उत्साहित हुनेगरी सार्वजनिक रुपमा नै ‘सेयर बजार अर्थतन्त्रको ऐना’ भएको प्रतिक्रिया दिन्थे ।
उनले सेयर बजारलाई विगतमा ‘जुवाघर’ लगायत गलत टिप्पणी गर्दा अस्थिरता पैदा गरेको भन्दै अब सरकारले सन्तुलित रूपमा अगाडि बढाउने प्रतिक्रिया दिन्थे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त बजार सूचक ३५०० अंकमा पुगेपछि ‘केक काट्ने’ भनिदिए । सेयर बजार प्रति सरकारको यो तहको सकारात्मक प्रतिक्रियाले धेरैलाई आशा जगाएको थियो । उनले बजारले नयाँ कीर्तिमानी राख्ने संज्ञा दिँदै लगानीकर्तासँगै बसेर केक काट्ने प्रतिक्रिया दिएपछि लगानीकर्ता हौसिएका थिए ।
प्रधानमन्त्रीले सेयर बजार मात्र नभई अर्थतन्त्र नै हरियो हुने अभिव्यक्ति संसदको पोर्डीयमबाटै उद्घोष गरे । ठूला भनिएका लगानीकर्ता पनि सेयर बजारले नयाँ रेकर्ड राख्छभन्दै सानालाई विश्वस्त पारिरहे । तर बजार घट्दा अहिले लगानीकर्ताहरू अतालिएका छन् ।
लामो समयसम्म बुलको स्वाद चाख्न नपाएका लगानीकर्ता फेरि पहिले जसरी नै घाटा व्यहोर्न बाध्य भएका छन् ।
अहिले बजार घट्दा न प्रधानमन्त्री बोल्छन्, न अर्थमन्त्रीले नै लगानीकर्ताको ‘घाउमा मल्हम लगाउने’ खालका कुनै प्रतिक्रिया दिएका छन् । यसो हुँदा कतिपय लगानीकर्ताले विगतमा ‘सीमित व्यक्तिको पक्षपोषण’ गरिएको त थिएन ? भन्ने प्रश्न उठाउन थालेका छन् ।
नियोजित रूपमा ‘फण्डा’ गरेर बजार बढाएको आशंका समेत उब्जिन थालेको छ ।
तर जम्मा डेढ महिनामा करीब १००० अंक बढेको सेयर बजार यसरी घट्नु त छँदै थियो । गत असार १६ मा २०३७ अंकमा बन्द भएको नेप्से साउन ३१ मा ३ हजार अंक पुग्यो । त्यसपछिको एक महिनामा नेप्से २५८० अंकमा झरेको छ ।
अर्थात् ९६३ अंक बढेर ४२० अंक घट्दा ४३.६१ प्रतिशत घटेको देखिन्छ । हामीले ‘फिबोनासी रिट्रेसमेण्ट’ विधी अनुसार गणना गर्ने हो भने कम्तिमा दुई वटा टेवा स्तरहरु पार गरेर नेप्से झरिसकेको छ । प्राविधिक विश्लेषणको उक्त औजारले सरदर २३.६, ३८.२, ६१.८ र ७८.६ प्रतिशतको गिरावटबाट बजार फर्किन सक्ने संकेत गर्छ । कतिपयले ५० प्रतिशतको अनुपातलाई पनि अनौपचारिक रुपमा उपयोग गरिरहेको पाइन्छ ।
२०७६ मंसिरदेखि २०७७ असारसम्म चलेको ‘डेड–बूल’मा नेप्सेले ८५.२२ प्रतिशत घटेपछि मात्रै बजार फर्किएको थियो । त्यसबेला परिसूचक ५२१ अंक बढेर ४४४ अंक घटेपछि मात्रै नयाँ ‘बूल’ सुरु भएको थियो ।