थप दुई लघुवित्तसहित ११ कम्पनीको लाभांश घोषणा, कसको बोनस र नगद कति ?
काठमाडौं । यो वर्षको लाभांश सिजन सुरु भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् ।
गत आर्थिक वर्ष २०८०-८१ को मुनाफाबाट कम्पनीहरुले लाभांश घोषणा गरेका हुन् । हालसम्म आइपुग्दा ११ वटा कम्पनीहरु (म्युचुअल फन्ड बाहेकका) ले यो वर्षका लागि लाभांश घोषणा गरेका हुन् ।
जसमध्ये सबैभन्दा धेरै हाइड्रोपावर तर्फ छन् । हालसम्म ५ वटा हाइड्रोपावर कम्पनी, दुई वटा लघुवित्त, २ वटा लगानी तर्फको कम्पनी रहेका छन् भने एक वाणिज्य बैंक र एक होटेल समूहको कम्पनीले लाभांश घोषणा गरेका छन् ।
यो वर्ष अपि पावर लिमिटेडले आफ्ना सेयरधनीलाई ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत गरि कुल ९.४७३७ प्रतिशत लाभांश दिने भएको छ । यस्तै, सुपर माइ हाइड्रोपावरले १२.६३ प्रतिशत (७ प्रतिशत बोनस र ५.५६ प्रतिशत नगद), मान्डु हाइड्रोपावरले १२ प्रतिशत नगद लाभांश, भगवती हाइड्रोपावरले ४ प्रतिशत बोनस र १०.७३६८ प्रतिशत नगद र साहस उर्जाले ८ प्रतिशत बोनस र ०.४२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् ।
यता, लगानी समूह तर्फ भने हाथवे इन्भेष्टमेन्ट नेपाल र सीइडीबीले हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेका हुन् । यो वर्ष हाथवेले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत र सीइडीबीले ११ प्रतिशत बोनस सेयर दिने भएको हो ।
यस्तै, गुराँस लघुवित्त र आशा लघुवित्तले पनि गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । गुराँस लघुवित्तले यो वर्ष आफ्ना सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत गरि कुल १५ प्रतिशत लाभांश दिने भएको छ । यता, आशा लघुवित्तले पनि १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
त्यसैगरि बाणिज्य बैंक तर्फ भने एभरेष्ट बैंकले मात्रै लाभांश घोषणा गरेको छ । बैंकले यो वर्ष १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरि कुल १५.५३ प्रतिशत लाभांश दिने भएको हो । यता, ओरियण्टल होटलले पनि लाभांश घोषणा गरेको छ । होटेलले ये वर्ष आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२६३१६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।