हिमालय उर्जाको साढे १४ लाख कित्ता सेयर लिलाममा, न्युनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले आज अर्थात् असोज ७ देखि हकप्रदमा अवितरित सेयर लिलाम बिक्री खुला गरेको छ ।
कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको १४ लाख ४६ हजार ३ सय ५९ कित्ता शेयर आज असोज ७ देखि असोज १४ गतेसम्म लिलाम गर्न लागेको हो ।
यस लिलामको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी सेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्नेछ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले सेयर पाउने कम्पनीले जनाएको छ।
त्यसपछि पनि सेयर बाँकी रहेमा दोस्रो बढी मूल्य कबोल गर्नेले सेयर पाउने छन् । यहि प्रक्रिया अनुसार सेयर बाँकी नरहेसम्म सेयर बाँडफाँड हुनेछ ।
लिलामीको सेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ । अधिकतम भने पुरै सेयरको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
काठमाडौँ भित्र नबिल इन्भेष्टमेन्टको नक्साल स्थित कार्यलयबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ ।
काठमाडौँ बाहिर भने नबिल बैंकको रंगेली रोड विराटनगर, भानुचोक जनकपुर, सुर्यविनायक भक्तपुर, सभागृहचोक पोखरा, कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ ।
कम्पनीले साउन १४ देखि भदौ १२ गतेसम्म १ः१ को अनुपातमा शतप्रतिशतले हुन आउने ९९ लाख कित्ता हकप्रद निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले असार ७ गते हिमालय उर्जा विकास कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।