दशैं अघिनै धितोपत्र बोर्डले अध्यक्ष पाउने, गएल भएका ३ जनालाई अन्तर्वार्ताको लागि बोलाइयो
काठमाडौँ । सरकाले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया फेरी सुरु गरेको छ । यसअघि अन्तरवार्तामा सहभागी नबनेका ३ जनालाई पुनः अन्तर्वार्ताको लागी बोलाएको छ ।
अर्थ मन्त्रालयले बिहीबार एक सूचना प्रकाशन गरी प्रश्तुतिकरण नदिएका ३ जनालाई फेरी प्रस्तुतीकरणको लागी बोलाएको हो । बोर्डकै कार्यकारी निर्देशक नवराज अधिकारी, साबिक बीमा समितिको पुर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ र नेपाल स्टक एक्सचेन्जको सिईओ कृष्णबहादुर कार्कीलाई यही असोज १८ गते बिहान ८ बजे प्रस्तुतीकरणको लागी बोलाएको छ ।
यसअघि सहभागी नभएका ३ जनाले अध्यक्ष नियुक्तिमा चलखेल हुन लागेको भन्दै अन्तरवार्तामै सहभागी भएका थिएनन् । उनीहरूले सरकारले १ साताको समय मागेर सूचना जारी गरे आफूहरू प्रस्तुतीकरणमा सहभागी हुने जनाउ दिएका थिए ।
यसअघि सेवनकै कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठले अन्तर्वार्ता सहभागी भएका थिए । बोर्डको अध्यक्षको लागी छनोट समितिले कम्तीमा ३ जनाको नाम सरकारसमक्ष पेस गर्नुपर्ने धितोपत्र ऐनका कारण अध्यक्ष नियुक्ति प्रक्रिया विलम्ब भएको हो ।
छनोटमा परेका उम्मेदवार सन्तोषनारायण श्रेष्ठले अध्यक्ष नियुक्ति प्रक्रिया पुरानैबाट सुरु गरी पाउँ भनी सर्वोच्च अदालतमा मुद्दा दाय गरेका थिए । श्रेष्ठले अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
गत असार २१ मा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले अध्यक्ष नियुक्ति प्रक्रिया पुरानैबाट सुरु गर्न आदेश दिएपछि सरकारले बाध्य भएर यसअघि अन्तर्वार्तामा सहभागी नभएकालाई पुनः बोलाएको हो ।