नेप्सेले आईजीनमा बार्गेनिङ गर्दा सेयर लिस्टिङमा समस्या, अख्तियारले थाल्यो अनुसन्धान « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

नेप्सेले आईजीनमा बार्गेनिङ गर्दा सेयर लिस्टिङमा समस्या, अख्तियारले थाल्यो अनुसन्धान



काठमाडौं । प्राथमिक सेयर निष्काशन (आईपीओ) जारी गरेका कम्पनीको सेयर सूचीकृत गर्ने सन्दर्भमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अनावश्यक लफडा निकालेपछि सेयर सूचीकरणमै समस्या उत्पन्न भएको छ ।

नयाँ सेयर सूचीकृत गर्दा ‘इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन)’ दिने अधिकार सीडीएस एण्ड क्लियरिङ लिमिटेडको भएपनि नेप्सेले त्यसका लागि दिनुपर्ने कोडमा आनाकानी गरेपछि समस्या उत्पन्न भएको समाचार स्रोतले जानकारी दिएको छ ।

यस अघि सेयर सूचीकरण गर्दा प्रदान गरिने कोड र आइजीन (इन्टरनेशनल स्ट्याण्डर्ड आइडेन्टिफिकेशन नम्बर) लाई नेप्से र सीडीएससीका केही कर्मचारीले ‘कमाईखाने भाँडो’ बनाउँदै आएको आरोप समाचार सूत्रको छ ।

अहिले त्यस्तो विकृतिलाई रोक्ने प्रयास स्वरुप संस्थापक र सर्वसाधारण स्वामित्वका सेयरको लागि भिन्नभिन्न कोड र आईजीन बनाउन लागिएको थियो । यो काम सीडीएस एण्ड क्लियरिङ लिमिटेडले गरेको हो ।

तर यो प्रक्रियालाई नेप्सेको अवरोधले कार्यान्वयन हुनबाट रोकेको सीडीएससीका एक अधिकारीले बताए । केही समयअघि सीडीएससीले ओमेगा श्री फर्मास्युटिकल्सले जारी गरेको सर्वसाधारण सेयरका लागि मात्र एउटा आईजीन बनाएर कोड नम्बर माग्दा नेप्सेले दिएको थियो । उक्त सेयर अहिले नेप्सेमा सूचीकृत भइसकेको छ।

सीडीएससीले अब उक्त कम्पनीको संस्थापक सेयरलाई भिन्न कोड तथा आईजीनमा सूचीकृत गर्ने कोसिस गरिरहेको छ ।

यही बेला केही जलविद्युत कम्पनीहरुको हकमा पनि त्यसरी नै सर्वसाधारण स्वामित्वका निम्ति एउटै मात्रै आईजीन मागेर सेयर सूचीकृत गर्न खोज्दा नेप्सले अड्काएर राखेको छ । जलविद्युत् कम्पनीका संस्थापक र स्थानीय लगायत संरक्षित सेयरधनिले ३ वर्षसम्मको प्रतिबन्धात्मक अवधि गुजारेपछि मात्रै दोस्रो बजारमा आफ्नो सेयर बेच्न पाउँछन् ।

तर सर्वसाधारणका लागि जारी भएको सेयर चाहीँ सूचीकरण हुनेवित्तिकै कारोबारमा जान्छ । त्यसैले तत्कालिन आवस्यकताको परिपूर्ति गर्न सर्वसाधारण स्वामित्वको सेयरलाई मात्रै आईजीन दिने प्रयासमा सीडीएससी छ ।

स्थानीय प्राक्रितिक स्रोतको उपयोग गर्ने उत्पादनमूलक क्षेत्र (रियल सेक्टर) र जलविद्युत कम्पनीका संस्थापकहरुको सेयर पनि ३ वर्षसम्म लकइन (बेच्न नपाउने व्यवस्था) हुन्छ । त्यसैले यस्ता सेयरहरुलाई ‘क’, ‘ख’ र ‘ग’ वर्ग भनेर कानूनले नै अलग्याएको छ ।

यसरी एउटै कम्पनी भए पनि त्यसको स्वामित्वको प्रक्रिति अनुसार नियमन गर्नुपर्ने र कारोबारमा पनि भिन्न व्यवस्थाहरु भएकाले ती सेयरहरुलाई स्वामित्वको प्रक्रिति अनुसार पृथक गर्न खोजिएको हो ।

यसअघि नै सीडिएससीले एउटै कोड र आईजिन दिएर लगानीकर्तामा भ्रम सिर्जना गरी कमाई खाने भाडोको रुपमा विकास गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परिसकेको छ ।

अख्तियारले त्यस सम्बन्धमा भर्खरैमात्र छानविन प्रक्रिया अघि बढाएको बताएको छ । ‘कुनै पनि कम्पनीले आफ्नो प्रवन्धपत्र, नियमावलीदेखि हरेक निकायमा सूचीकृत गर्दा संस्थापक र सर्वसाधारण गरी दुई भागमा विभाजन गरिएको सेयरलाई नेप्सेले एउटै कोड नम्बर उपलब्ध गराउने तथा सोही कोडको आधारमा सीडएस एण्ड क्लियरिङले एउटै आइजीन नम्बर दिएर सर्वसाधारण लगानीकर्तामाथि शोषण गर्नुका साथै अख्तियारको समेत दुरुपयोग गरी गैरकानूनी कार्य गर्दै आएका छन्,’ अख्तियारमा परेको उक्त उजुरी निवेदनमा भनिएको छ ।

निवेदकले एउटै कोड र आइजिन नम्बर दिएका कारण कतिपय लगानीकर्ताले जानाजान लकिङ पिरियड नखुल्दै आफूसँग भएको सेयर दोस्रो बजारमा बिक्री गरेको आरोप लगाएका छन् । कतिपयले लगानीकर्ताले भने एउटै कोड र आइजिनकै कारण नै अञ्जानवश लकिङ समयावधि बाँकी नै रहेको सेयर समेत बिक्री गरेको पनि निवेदनमा भनिएको छ ।

नेप्सेका सीईओमा चुडामणी चापागाई नियुक्त भएर आएसँगै उनले एउटामात्रै आईजीन र कोड नम्बर हुनुपर्ने अडान राख्दै आएको नेप्से स्रोतले जानकारी दिएको छ ।

सीईओ चापागाईँलाई चिन्नेहरुका अनुसार यसअघि सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको उपमहाप्रबन्धक पदबाट जागिर छाडेपछि जलविद्युतको संस्थापक सेयर बिक्रीका लागि अफिस नै खोलेर बसेका थिए । विगतमा उनी आफैँ पनि जलविद्युत कम्पनीहरुमा संस्थापक सेयर किनबेच गर्दै आएको स्रोतको दाबी छ ।

तिनै सीईओ अहिले दुई ओटा कोड र आईजीन दिँदा समस्या पर्ने भएका कारण सीडीएसीले बजार सुधारका लागि संस्थापक र सर्वसाधारणका लागि फरक फरक आईजिन र कोड दिन सहमति माग्दासमेत रोकेर बसेको बताइएको छ ।

आईजीनको विषयमा विवाद आएपछि नेपाल धितोपत्र बोर्डले असल अभ्यास र कानून अनुरुप अघि बढ्न भन्दै सीडीएससीलाई निर्देशन समेत दिएको छ ।

सोही अनुरुम मापदण्ड निर्माण प्रक्रियासमेत अघि बढेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

साथै मापदण्ड नबनुन्जेलसम्मका लागि सीडीएससीले भर्खर आईपीओमा आएका कम्पनीको सर्वसाधारण सेयर कारोबार गर्न सेयर सूचीकृत गरिदिन कोड मागेको हो ।

‘भर्खर आईपीओ आएका कम्पनीको संस्थापक सेयर किनबेच गर्ने लकिङ समयावधि नै ३ वर्षको हुन्छ । सर्वसाधारण सेयरमात्रै सूचीकृत हुने वित्तिकै दोस्रो बजारमा कारोबारमा आउने हो,’ सीडीएससी स्रोतले भन्यो, ‘सोही अनुरुपमा हामीले नेप्सेलाई तत्कालका लागि सर्वसाधारण सेयर सूचीकृत गरिदिनु, संस्थापकको विषयमा कानून बनेपछि गरौँला भन्दा नेप्सेले अड्काएर राखेको छ ।’


प्रतिक्रिया दिनुहोस्