एनआईसी एशिया बैंककाे ४५ हजार कित्ता संस्थापक सेयर बिक्री खुल्ला, सर्वसाधारणले आवेदन दिन पाउने
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४५ हजार कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको छ।
बैंकका संस्थापक सेयरधनी श्री गोविन्द लाल संघईले आफ्नो नाममा रहेको उक्त परिमाणको सेयर बिक्री गर्न इच्छा राखी निवेदन दिएकाले बैंकले यो प्रक्रिया अगाडि बढाएको हो।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्राथमिकता बैंकका विद्यमान संस्थापक सेयरधनीहरूलाई दिनुपर्ने व्यवस्था रहेको छ। सोही अनुरूप बैंकले सुरूमा संस्थापक सेयरधनीहरू लागि सूचना प्रकाशन गरेको थियो। तर, उक्त तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन प्राप्त नभएपछि बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम अन्य सर्वसाधारण व्यक्ति तथा संस्थाहरूले समेत खरिद गर्न सक्ने गरी यो नयाँ सूचना जारी गरेको हो।
उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक तथा नेपाल राष्ट्र बैंकले संस्थापक हुनका लागि निर्धारण गरेको आवश्यक योग्यता पुगेका सर्वसाधारण व्यक्ति वा संस्थाहरूले यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ।
इच्छुक खरिदकर्ताहरूले काठमाडौँको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रति कित्ता दरभाउ (मूल्य) स्पष्ट रूपमा उल्लेख गरी लिखित निवेदन पेश गर्नुपर्नेछ।













