सर्वोत्तम सिमेन्टको आइपीओ हात पार्न भाग्यकै भर: १९ गुणा बढी आवेदन, ५५ हजारले मात्रै ५०/५० कित्ता पाउने « Arthapath.com
१६ फाल्गुन २०८०, बुधबार

सर्वोत्तम सिमेन्टको आइपीओ हात पार्न भाग्यकै भर: १९ गुणा बढी आवेदन, ५५ हजारले मात्रै ५०/५० कित्ता पाउने



काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओमा माग भन्दा १९.३२ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले गत फागुन १३ गते आइतबारदेखि २७ लाख ७६ हजार ७६ कित्ता सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । तर, आवेदन दिने अन्तिम दिन अर्थात् बुधवारसम्म कम्पनीको आइपीओमा ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताको माग सहित आवेदन परेको छ ।

अन्तिम दिनसम्म कम्पनीको आइपीओमामा १० लाख १२ हजार ३८४ जनाले सो बराबरको आवेदन दिएका हुन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आइपीओमा कुल १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार रुपैयाँ संकलन भएको छ ।

कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दर आवेदन दिन मिल्नेगरि आइपिओ बिक्रीमा ल्याएको हो, लगानीकर्ता न्युनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था थियो । अधिकतम भने १० हजार कित्ताका लागि आवेदन सकिने छ । न्युनतम ५० कित्ताका लागि आवेदन दिन पनि १८ हजार ४५ रुपैयाँ हाल्नुपर्ने व्यवस्था थियो ।

कम्पनीको आइपीओ ५५ हजार ५२१ जनाले न्युनतम ५० कित्ता पाउने छन् । यी बाहेक अन्य अर्थात् साढे ९ लाख बढीको हात खाली हुनेछ ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम भने ग्लोल आइएमई क्यापिटलले गरेको छ । यसअघि कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्